नेपालले ‘वर्ल्ड पावर लिफ्टिङ च्याम्पियनसीप’मा सहभागिता जनाउने

0

पोखरा,६ मंसिर ।
आगामी डिसेम्बर ४ देखि ७ सम्म भारतको महाराष्ट्रमा आयोजना हुने २५औँ ‘वर्ल्ड पावर लिफ्टिङ च्याम्पियनसीप–२०२०’ मा नेपालले सहभागिता जनाउने भएको छ ।

नेपाल पावर लिफ्टिङ एशोसिएसनले आज पोखरामा पत्रकार सम्मेलन आयोजना गरी सहभागिता बारे जानकारी गराएको हो ।
नेपालको तर्फबाट चार पुरुष र एक महिला गरी पाँच खेलाडीले सो प्रतियोगितामा सहभागिता जनाउने एशोसिएसनले जनाएको छ ।

प्रतियोगितामा नेपालका हसन गुरुङले ८० केजी, राजेश सुवालले ९० केजी, सुजन आलेले ७५ केजी, आशिष आलेले १०० केजी र श्रुती कार्कीले ५५ केजी तौल समूहमा प्रतिस्पर्धा गर्ने एशोसिएसनका अध्यक्ष सुन्दर भुसालले बताउनुभयो ।

नेपाली खेलाडी तथा प्रशिक्षक, व्यवस्थापकसहित आठ सदस्यीय टोली डिसेम्बर ३ मा भारत प्रस्थान गर्ने उहाँले जानकारी दिनुभयो ।

कोरोना कहरका कारण विगत लामो समयदेखि खेलकूद गतिविधि ठप्प भएको अवस्थामा नेपालले अन्तरराष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउनु महत्वपूर्ण रहेको एशोसिएशनका अध्यक्ष भुसालको भनाई थियो ।

उहाँले भन्नुभयो, ‘हामीले संस्थागतरुपमा खेलाडीलाई प्रतियोगितामा सहभागी गराउँदैछौँ, हालको विषम अवस्थामा अन्तरराष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व हुनु नै ठूलो कुरा हो ।’

आगामी दिनमा सातै प्रदेशबाट खेलाडी छनोट गरी पावर लिफ्टिङको राष्ट्रिय प्रतियोगिता आयोजना गरिने पनि एशोसिएसनले जनाएको छ ।

यसअघि गत चैत १२ गतेदेखि सो प्रतियोगिता तय भएकामा कोरोना भाइरसका कारण पछि धकेलिएको थियो । प्रतियोगितामा नेपालसहित २५ राष्ट्रले सहभागिता जनाउने एशियन पावर लिफ्टिङ महासंघका उपाध्यक्ष जीवन गिरीले जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा गण्डकी प्रदेशसभा सदस्य राजीव पहारीले खेलकूदका माध्यमबाट राष्ट्रलाई चिनाउन तीनै तहका सरकारले खेलाडी उत्पादन गर्न लगानी गर्नुपर्ने बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.