लुम्बिनी प्रदेश सभामा सत्ता पक्षकै सांसदहरुबीच आरोप–प्रत्यारोप


प्रदेशमा बेरुजु बढेकोले बेरुजु फछ्र्यौट गर्न लेखा समिति सभापति चौधरीद्धारा सरकारको ध्यानाकर्षण

बुटवल,२० चैत ।
लुम्बिनी प्रदेश सभामा सत्ता पक्षकै सांसदहरुबीच आरोप–प्रत्यारोप भएको छ ।

शुक्रबार बसेको प्रदेश सभाको बैठकमा बिशेष समय लिएर बोल्दै हालसम्म सत्ता पक्षकै हैसियतमा रहेका नेकपा माओवादी केन्द्रका प्रदेश सभा सदस्य इन्द्र प्रसाद खरेलले बर्तमान सरकार नेपालको इतिहासमै सबैभन्दा भ्रष्ट भएको आरोप लगाएपछि नेकपा एमालेका प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरेले प्रतिवाद गर्नुभएको हो ।

खरेलले प्रधानमन्त्री ओलीले भ्रष्टाचार नियन्त्रण गर्नुको सट्टा भ्रष्टाचारी र कमिशनखोरलाई पुरस्कृत गरेर भ्रष्टाचार बढाएको आरोप लगाउनुभयो ।

प्रधानमन्त्री ओलीले नेपालको विकास देखेर अन्तराष्ट्रिय समुदाय दङ्ग परे पनि भन्ने अर्कोतर्फ काम गर्न नदिएकाले संसद बिघटन गरेको भनेर जनतालाई भ्रममा पारेको भन्दै बिरोध गर्नुभयो ।

नेपाली जनताले नेपालका कम्युनिष्ट पार्टीहरु मिल भनेर दिएको विश्वासमाथि प्रधानमन्त्री ओलीले जनमतको अपमान गरेर संसद बिघटन गरेको बताउनुभयो ।

नेकपा एमालेबाट निर्वाचित प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरेले भने संसद बिघटन गर्ने प्रधानमन्त्री ओलीको कदम र नेकपाको बिवादमा अध्यक्ष ओलीले अवलम्वन गरेको भूमिकाको बचाउ गर्दै नाम नलिइकन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कालो सूचिमा परेको ठेकेदारको घरमा बसेकोमा बिरोध गर्नुभयो ।

बैठकमा सार्वजनिक लेखा समितिको बार्षिक प्रतिवेदन पेश गर्दै समितिका सभापति डिल्लीबहादुर चौधरीले प्रदेश सरकारको बेरुजु बढेको भन्दै बेरुजु फस्र्यौट गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रदेशका मन्त्रालयमध्ये भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालयमा सबैभन्दा बेथिति र अनियमितता रहेको र दोस्रोमा भौतिक पूर्वाधार विकास मन्त्रालयमा बेथिति रहेको उल्लेख गर्नुभयो ।

बैठकमा कांग्रेस संसदीय दलका प्रमुख सचेतक फकरुद्धिन खाँन,प्रदेश सभा सदस्यहरु रमा अर्याल,दीपेश थारु,बिजय बहादुर यादव,सन्तोष कुमार पाण्डेय,कमलादेबी बिकले बिशेष समय लिएर समसामयिक बिषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।

आजकै बैठकमा कृषि,वन तथा वातावरण समितिका सभापति बिजय बहादुर यादव,अर्थ,उद्योग तथा पर्यटन समितिका सभापति दधिराम न्यौपाने र भौतिक पूर्वाधार विकास समितिका सभापति आशा स्वर्णकारले आ–आफ्नो समितिका बार्षिक प्रतिवेदन पेश गर्नुभयो ।

त्यस्तै आजकै बैठकले ‘प्रदेश विश्वविद्यालयको स्थापना,सञ्चालन,नियमन र व्यवस्थापन गर्न बनेको विधेयक’ पारित गरेको छ ।

You might also like