निर्वाचनमा गुट भए पनि अब एक हौं ः शेखर गोल्छा

काठमाडौँ,१५ मंसिर ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले निर्वाचनमा गुट भए पनि अब सबै एक हुन उद्योगि व्यवसायीहरुलाई आग्रह गर्नुभएको छ ।

आइतबार महासंघ अध्यक्षको पदभार ग्रहण गर्दै अध्यक्ष गोल्छाले निर्वाचनमा गुट भए पनि अब सबै एकजुट भएर अगाडी बढ्न आग्रह गर्नुभएको हो ।

महासंघलाई गुटउपगुट र राजनीतिमुक्त बनाई पारदर्शी र समावेशी बनाउनुपर्ने आवश्यकता महसुस भएको बताउदै उहाँले आफ्नो अबको कामकारबाही व्यावसायिक, पारदर्शी र जवाफदेही हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो–‘वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल, उपाध्यक्ष दिनेश श्रेष्ठ, अञ्जन श्रेष्ठ र रामचन्द्र संघाईलगायत सम्पूर्ण कार्यसमितिका साथी नयाँ नेतृत्वमा आउनुभएको छ ।

निर्वाचनसम्म प्यानल र गुटउपगुट भए पनि आजदेखि हामी एक हौं भनेर मैले भनिरहनै पर्दैन । किनकि सबै बुद्धिमान् र विवेकशील हुनुहुन्छ ।
एकताको महत्त्व हामी सबैले बुझेकै छौं । हिजोअस्तिसम्म केही टीकाटिप्पणी, असमझदारी, घोचपेच वा मनमुटाव थिए भने अब ती सबैलाई बिसाएर समग्र निजी क्षेत्र र महासंघको हकहितका लागि समर्पित हुनुहुनेछ भन्नेमा विश्वस्त छु ।’

महासंघ र निजी क्षेत्रको सम्मान बढाउन र मुलुकको अर्थतन्त्रमा योगदान पु¥याउन आफुले तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएको छु । भन्दै अध्यक्ष गोल्छाले तत्कालका लागि कोरोना महामारीबाट प्रभावित उद्यमी व्यवसायीलाई राहत प्रदान गर्न थप प्रयास गर्ने प्रतिवद्धता जनाउनुभयो ।

दिगो र दरिलो अर्थात् रेजिलेन्ट अर्थतन्त्र निर्माणका लागि अर्थतन्त्रका विभिन्न क्षेत्रमा सुधारको योजना तयार भएको बताउदै उहाँले यो रणनीतिपत्र कार्यकारिणी समितिमा प्रस्तुत गरी तत्काल कार्यान्वयनमा लैजाने योजना रहेको जानकारी गराउनुभयो ।

दिगो आर्थिक वृद्धि, रोजगारी र राजस्वको मुख्य स्रोत निजी क्षेत्र हो भन्दै गोल्छाले समुन्नत मुलुक निर्माणमा निजी क्षेत्रको बढीभन्दा बढी योगदान पु¥याउन व्यवसायमैत्री वातावरण अपरिहार्य सर्त भएको बताउनुभयो ।

You might also like