युरोपमा कोरोनाको दोस्रो लहर ः मृत्युदर बढ्दो

 

एजेन्सी–कोरोना महामारीको दोस्रो चरण सुरु भएसँगै युरोपमा मृत्यु हुनेको संख्या पनि बढिरहेको छ ।

पछिल्लो समय फ्रान्स, स्पेन, बेलायत, इटाली, जर्मनी लगायत देशमा मृतकको संख्या बढेको हो ।

यी देशमा गत अप्रिल र मार्चमा पनि धेरै प्रभावित भएका थिए । फ्रान्समा शुक्रबार मात्र ८ सय २८ जनाको मृत्यु भएको थियो ।

पछिल्लो साता त्यहाँ करीब तीन हजार २ सयको मृत्यु भइसकेको छ । इटालीमा पनि दैनिक मृत्यु हुनेको संख्या उकालो लागिरहेको छ । त्यहाँ शुक्रबार ४ सय ४६ जना र बिहीबार ४ सय २८ को मृत्यु भएको थियो ।

स्पेनमा पनि शुक्रबार ३ सय ४७ र बिहीबार ३ सय ६८ जनाको मृत्यु भएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

त्यस्तै बेलायतमा शुक्रबार ३ सय ५५ जनाको मृत्यु भएको थियो । स्पेनमा पछिल्लो एक हप्तामा दुई हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

स्पेन र जर्मनमा पनि मृत्यु हुनेको संख्या दैनिक बढिरहेको छ । अन्य देशको तुलनामा जर्मनीमा भने मृत्युदर कम भएको पाईएको छ ।

यी देशमा गएको अप्रिलमा दैनिक एक हजार आसपासमा संक्रमितहरुको मृत्यु भएको थियो । मे महीनाबाट मृत्युदर घट्दै गएको थियो । जुनदेखि अक्टोबर दोस्रो सातासम्म दैनिक मृत्युदर दोहोरो अंकमा सीमित थियो । जुनदेखि सेप्टेम्बरसम्म दैनिक ३० भन्दा कम संक्रमितको मात्र मृत्यु भएको थियो ।

संक्रमण दर बढेसँगै युरोपका अधिकांश देशले लकडाउन घोषणा गर्नुका साथै कतिपयले स्वास्थ्य मापदण्डमा कडाइ गरेका छन् । पहिलो लहरमा संक्रमितको संख्या तुलनात्मक कम भेटिएका बेल्जियम र पोल्याण्डमा पनि दोस्रो लहरले बढी प्रभावित बनाएको छ । चेक गणतन्त्र र नेदरल्यान्ड्समा पनि संक्रमित बढिरहेका छन् ।

अहिलेसम्म विश्वमा चार करोड ९६ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । तीमध्ये १२ लाख ४८ हजार ५ सय ६५ जनाको मृत्यु भइसकेको छ ।

You might also like