अमेरिका निर्वाचन ः डोनल्ड ट्रम्पलाई हराउँदै जो बाइडन विजयी

काठमाण्डौ,२३ कार्तिक ।
जो बाइडन अमेरिकी राष्ट्रपति निर्वाचित भएका छन् ।

पेन्सिल्भेनिया राज्यमा विजयी भएसँगै डेमोक्र्याटिक पार्टीका उम्मेदवार बाइडन अमेरिकाको आगामी राष्ट्रपति बन्नका लागि आवश्यक मत हासिल गर्न सफल भएका छन्, यद्यपी उनका सामु कानुनी चुनौतीहरू भने बाँकी रहेका छन् ।

बीबीसीले गरेको प्रक्षेपण अनुसार उनले यो महत्त्वपूर्ण राज्यमा जित हासिल गरेपछी उनीसँग २७३ इलेक्टरल कलेज मत हुनेछ जुन जितका लागि आवश्यक २७० मत भन्दा बढी हो ।

उनी प्रतिस्पर्धात्मक निर्वाचनमा डोनल्ड ट्रम्पलाई पराजित गर्दै अमेरिकाको ४६औँ राष्ट्रपति हुने भएका छन् ।

ट्रम्प पक्षले हार स्वीकार नगर्ने संकेत दिएको छ ।
विजयी हुने प्रक्षेपणपछि बाइडनले एक विज्ञप्तिमा भनेः “मलाई र उपराष्ट्रपति निर्वाचित कमला ह्यारिसप्रति अमेरिकी नागरिकले देखाएको विश्वासले मैले सम्मानित र धन्य महसुस गरेको छु ।“

“अब निर्वाचन अभियान सकिएपछि आक्रोश र एकअर्काप्रतिको आरोपप्रत्यारोपलाई पाखा लगाएर एक राष्ट्रको रूपमा अगाडि आउनुछ । अमेरिका एक हुने समय हो ।“

यो नतिजाले ट्रम्पलाई सन् १९९० यता पहिलो एक कार्यकालमात्रै शासन गर्ने अमेरिकी राष्ट्रपति बनाएको छ ।

आफ्नो भर्जिनिया रिसोर्टमा गल्फ खेल्दै गरेका ट्रम्पले वक्तव्यमा निर्वाचन नसकिएको प्रतिक्रिया दिएका छन् ।

“किन जो बाइडन विजेताको रूपमा गलत घोषणा गर्न र किन सञ्चारमाध्यम उनलाई सहयोग गर्न प्रयास गरिरहेका छन् भन्ने सबैलाई थाहा छः उनीहरू सत्य बाहिर ल्याउन चाहँदैनन्,“ लिखित विज्ञप्तिमा भनिएको छ ।

“सामान्य तथ्य के हो भने यो निर्वाचन अन्त्य भएको छैन ।“

निर्वाचनको नतिजा सञ्चारमाध्यमको प्रक्षेपण हो र यसलाई निर्वाचन अधिकारीहरूले प्रमाणीकरण गरेका छैनन् ।

सोमबारदेखि आफ्नो टोलीले अदालतमा निर्वाचन कानुन पालना गरेको र सहि विजेतालाई पदमा पुर्याउन कानुनी प्रक्रिया थाल्ने विज्ञप्तिमा उल्लेख छ ।

बीबीसीको प्रक्षेपण मतगणना सम्पन्न भएको पेन्सिल्भेनियाको अनौपचारिक नतिजाका साथसाथै विस्कन्सिनजस्ता राज्यमा उनले जित्ने सम्भावनामा आधारित छ ।

सन् १९०० यता सबैभन्दा बढी मतदान भएको निर्वाचनमा बाइडनले सात करोड ३० लाखभन्दा बढी मत प्राप्त गरेका छन् जुन कुनैपनि अमेरिकी राष्ट्रपतिले हालसम्म प्राप्त गरेको मतभन्दा बढी हो ।

ट्रम्पको लगभग सात करोड छ जुन इतिहासमै राष्ट्रपतीय उम्मेदवारले पाएको दोस्रो ठूलो मतसंख्या हो ।
मतगणना जारी रहँदा ट्रम्पले आफूले जितेको गलत दाबी गरेका थिए । त्यसपछि उनले दैनिक धाँधली भएको दाबी गरिरहेका छन् तर उनले कुनै प्रमाण दिएका छैनन् ।

उनको पक्षबाट केही राज्यहरूमा मुद्दा दायर गरिएको छ र शुक्रवार बाइडनले जित्ने सम्भावना देखिएपछि ’यो निर्वाचन अन्त्य नभएको’ विज्ञप्ति निकालिएको छ ।

अमेरिकाभरि कोरोनाभाइरसको संक्रमण र मृत्यु बढिरहेको बेला भएको यो निर्वाचनमा ट्रम्पले बाइडनले जिते लकडाउन हुने र आर्थिक मन्दी हुने बताउँदै आएका छन् ।

बाइडनले भने राष्ट्रपति ट्रम्पलाई कोरोनाभाइरस नियन्त्रण गर्न यथेष्ट कार्य गर्न असफल रहेको आरोप लगाउने गरेका छन् ।

बाराक ओबामाको आठ बर्षे कार्यकालमा उपराष्ट्रपति रहेका ७८ वर्षीय बाइडन अमेरिकाका सबैभन्दा बढी उमेरका राष्ट्रपति हुनेछन् ।

You might also like