गोरखा नगरपालिकाका विद्यालय दुई हप्ता बन्द
गोरखा,२३ कार्तिक ।
गोरखा नगरपालिकाले दुई हप्ताका लागि विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ ।
नगरपालिकाले नगर क्षेत्रका निजी तथा सामुदायिक विद्यालयमा पठनपाठन बन्द गर्ने निर्णय गरेको हो ।
केही विद्यालयका शिक्षकहरुमा कोरोना भाइरस संक्रमण देखिएको भन्दै नगरपालिकाले कार्तिक २४ गतेदेखि मंसिर ६ गतेसम्म निजी र सरकारी विद्यालयमा पठनपाठन बन्द गराएको हो ।
नगरपालिकाले केही कर्मचारीमा कोरोना भाइरस संक्रमण देखिएको र कतिपय कर्मचारीमा लक्षण देखिएको भन्दै नगरपालिका र वडा कार्यालयमा पनि अत्यावश्यकबाहेकका सेवा बन्द गरेको छ ।
कार्तिक २४ गतेदेखि २८ गतेसम्म नगरपालिका कार्यालय र वडा कार्यालयबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तले जानकारी दिए ।
गोरखा नगरपालिका क्षेत्रबाट बाहिर जाने र बाहिरबाट आउनेहरुले टोल विकास संस्था र वडा कार्यालयमा जानकारी गराउन पन्तले आग्रह गरेका छन् ।
त्यस्तै अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन र बैंक तथा वित्तीय संस्था, सार्वजनिक यातायात र पसलमा भिड नगरिदिन पनि उनले अनुरोध गरे ।