नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा शाक्य

काठमाडौं २४ कात्तिक
ऊर्जा मन्त्रालयले हितेन्द्रदेव शाक्यलाई नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा नियुक्त गरेको छ । अर्को व्यवस्था नभइन्जेलसम्मका लागि भन्दै मन्त्रालयले शाक्यलाई निमित्त प्रमुखमा चयन गरेको जनाएको छ । उहाँले सोमबार नै पदबहाली गर्नु भएको छ । उपकार्यकारी निर्देशक शाक्यलाई ‘एनईए इन्जिनियरिङ कम्पनी’बाट काज फिर्ता गरेर नियुक्ति दिइएको हो । ऊर्जामन्त्री वर्षमान पुनले शुक्रबार प्राधिकरण सञ्चालक समिति बैठकमा शाक्यलाई कार्ज फिर्ता गराउन निर्देशन दिनु भएको थियो ।
शाक्यलाई यसअघिका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइरालाले प्राधिकरणको केन्द्रीय कार्यालयमा हाजिर हुन आइतबार निर्देशन दिनु भएको हो ।
यसअघि ऊर्जामन्त्री वर्षमान पुनले कुलमान घिसिङको कार्यकाल सकिएपछि प्राधिकरण हाजिर गरिरहेका उपकार्यकारीमध्येबाट कोइरालालाई बरिष्ठताका आधारमा निमित्तको जिम्मेवारी दिईएको थियो ।
तर, घिसिङको पुर्ननियुक्त गर्न असहमत भएका प्रधानमन्त्री केपी शर्मा ओलीले प्राधिकरणको बरिष्ठ अधिकारीलाई पन्छाएर कनिष्ठलाई निमित्तको जिम्मा दिएको भन्दै मन्त्री पुनसँग असन्तुष्टि राख्नु भएको थियो ।
शाक्यले हाल नेतृत्व गरिरहेको एनईए इन्जिनियरिङ प्राधिकरणको सहायक कम्पनी हो । परामर्श एवम् इन्जिनियरिङ सेवामा विदेशिने रकम जोगाउन भन्दै २०७३ मा स्थापित कम्पनीको प्रवन्ध निर्देशकका रुपमा काम गर्न कुलमान घिसिङले नै शाक्यलाई पठाउनु भएको थियो । प्राधिकरणबाट घिसिङ बाहिरएपछि शाक्यले प्राधिकरणको कार्यकारी निर्देशकमा आफ्नो दावेदारी रहेको बताउदै आउनु भएको थियो ।

You might also like