सुस्तामा वसोवास शुरु भएको ५५ वर्ष पछि सौर्य मिनीग्रिड प्लाण्टको माध्यमवाट बिजुली वाल्ने तयारी
बुटवल २४ कार्तिक
बहुचर्चित नेपाली भूमि सुस्तामा सौर्य मिनीग्रिड प्लाण्ट निर्माण गरी बिजुली वाल्ने तयारी भएकोे छ ।
पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित नारायणी नदीपारि पर्ने विकट क्षेत्र बहुचर्चित नेपाली भूमि सुस्तामा बिजुलीको पहुँच पु¥याइएको हो । बिजुलीको पहुँच पुगेपछि स्थानीयवासीमा खुशीयाली छाएको छ ।
नारायणी नदीका कारण राष्ट्रिय प्रसारण लाइन लैजान असहज हुँदा वर्षौँदेखि सुस्तावासी अन्धकारमा बस्दै आएका थिए ।
टुकीको भरमा जीवन बिताउँदै आएका स्थानीय वासीको समस्यालाई मध्यनजर गर्दै सरकारले सौर्य प्लान्टमार्फत बिजुलीको व्यवस्था गरेको हो ।
ग्रिड निर्माण सम्पन्न भइसकेकाले अब घर घरमा बिजुली बाल्न मात्र बाँकी रहेको सुस्ता गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले बताउनु भयोे ।
टपसन इनर्जी प्रालीले निर्माणको जिम्मा पाएको उक्त सौर्य ग्रिडको एकवर्ष अघि ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले शिलान्यास गर्नुभएको थियो ।
कूल चार करोड ८० लाख ९२ हजार २६८ मा निर्माण गरिएको ग्रिडमा ६० प्रतिशत अर्थात दुई करोड ८८ लाख ५५ हजार ३६१ वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको अनुदान रहेको छ ।
तराई–मधेस समृद्धि कार्यक्रमको एक करोड ७५ लाख र सुस्ता गाउँपालिकाको १७ लाख ३६ हजार ९०७ रुपैयाँको लगानी रहेको छ ।
तिहारअघि नै सुस्तालाई झिलिमिली बनाउने गरी सौर्य ग्रिडको उद्घघाटन गर्ने तयारी गरिएको गाउँपालिका अध्यक्ष पाण्डेले बताउनुभयो ।
बिजुलीको अभावमा सुस्तावासीले गर्मी मौसममा पङ्खा चलाउन, अध्यारोमा हिँडडुल गर्दा सर्पदंशको समस्या भोग्नुका साथै तरकारी तथा अन्नबालीमा सिँचाई गर्नबाट पनि वञ्चित रहदै आएका थिए ।
२१औँ शताब्दीमा पनि हामी टुकी बालेर बसेका थियौँ, अब बिजुली आएपछि हामी धेरै उत्साहित भएका छौँ, अब त हाम्रो जीवनशैली नै परिवर्तन हुन्छ’सौर्य मिनी ग्रिड निर्माण समितिका अध्यक्ष रवीन्द्र जयसवालले बताउनु भयो ।
सौर्य ऊर्जाबाट उत्पादित बिजुलीले विद्युत् प्राधिकरणमार्फत वितरित बिजुलीले जत्तिकै काम गर्ने भएकाले कृषि सिंँचाइका लागि बोरिङ सञ्चालन गर्न पनि सजिलो हुने उहाँको भनाइ छ ।
सुस्ता बचाउ अभियानका प्रवक्ता समेत रहनुभएका जयसवालका अनुसार सुस्तामा तीन हजार १३३ जनाको बसोबास छ । सुस्तामा विसं २०२२ देखि बसोबास शुरु भएको थियो ।