चिनियाँ नाका सहज नभएको भन्दै नाकामै धर्ना दिने व्यवसायीको चेतावनी

 

काठमाडौं,२५ कार्तिक ।
चिनियाँ नाका सहज नभएको भन्दै व्यवसायीहरुले नाकामै धर्ना दिने चेतावनी दिएका छन् ।

लामो समयदेखि नाकामा भएको समस्या समाधान नभएको भन्दै महासंघले नाकामै गएर धर्ना बस्ने चेतावनी समेत दिएको हो ।

चिनियाँ नाकामा रोकिएका सामानहरु सहज रुपमा नेपाल भित्रने व्यवस्था गर्न नेपाल राष्ट्रिय व्यवसायी महासंघले माग गरेको छ ।

महासंघका अध्यक्ष नरेश कटुवालले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै सरकारले कुटनीतिक पहलको प्रयास गर्न नसकेको उल्लेख गरेका छन् । उनले सरकारले तत्कालै समस्या समाधान नभए चिनियाँ नाकाहरुमा पुगेर धर्ना दिने चेतावनी समेत दिए ।

‘नाकाहरुमा अहिले पनि धेरै कन्टेरहरु रोकिएका छन्, तर दिनमा एक र बढीमा दुईवटामात्रै कन्टेनर चिनियाँ पक्षले नेपाल भित्रन दिइरहेको छ’ जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपालतर्फ कुनै समस्या नहुँदा समेत सहज रुपले सामान नभित्रिनुमा नेपाल सरकारले कुटनितिक पहल कमजोर रहेको प्रष्ट हुन्छ ।’

महासंघका अनुसार नाकाहरुमा पछिल्लो समय कन्टेनरको अत्यधिक भाडा वृद्धि समेत भएको छ । साथै लामो समयदेखि रहेको सिण्डिकेट समेत अन्त्य हुन नसकेको महासंघले उल्लेख गरेको छ । यसका लागि सरकारले तत्कालै कुटनितिक पहल लिनुपर्ने महासंघले बताएको छ ।

महासंघले दशैं अघि नै सामान छुटाउन सरकारका विभागीइ मन्त्रीदेखि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासमेतको ध्यानाकर्षण गराएको थियो ।

You might also like