पाल्पा–गुल्मी सडक दैनिक १३ घण्टा बन्द

पाल्पा,२५ कार्तिक ।

पाल्पाको बर्तुङ–गुल्मी सडक मंगलबारदेखि दैनिक १३ घण्टा बन्द भएको छ । हार्थोकदेखि मालमूल हुँदै जोर्ते खण्डमा मोड सुधार तथा सडक स्तरोन्नतिका लागि सवारी आवागमन बन्द गरिएको डिभिजन सडक कार्यालयका सूचना अधिकारी शिवु खत्रीले जानकारी दिए ।

डिभिजन सडकका अनुसार मंगलबारदेखि कात्तिक २७ गते बिहीबारसम्म सडक बन्द हुनेछ । यस्तैगरी मंसिर २ देखि १३ गतेसम्म पनि पुनः बन्द हुनेछ ।

बिहान ३ देखि ६, दिउँसो १२ देखि ४, बेलुकी ७ देखि ८ र राति ९ देखि १२ बजेसम्म सडक बन्द हुनेछ भने अन्य समयमा भने सवारी आवागमन यथावत रुपमा सञ्चालन हुने ट्राफिक प्रहरी प्रमुख उपेन्द्र बुढाथोकीले जानकारी दिए ।

कात्तिक २८ देखि मंसिर १ गतेसम्म तिहारको छुट्टी भएकाले काम नहुने डिभिजन सडकका सूचना अधिकारी खत्रीले जनाए । एम्बुलेन्स र अत्यावश्यक सवारीका लागि भने मिलाएर छाड्ने उनले बताए ।

You might also like