पूर्वराज्यमन्त्री गौचनको निधन
बागलुङ,२७ कार्तिक ।
पूर्वराज्यमन्त्री ओमकारप्रसाद गौचनको निधन भएको छ । ८५ वर्षीय गौचनको राजधानीस्थित दीर्घायु अस्पतालमा बुधबार निधन भएको हो ।
विसं १९९२ मा बागलुङ नगरपालिका–३ नारायणचोकमा जन्मिएका उनी विसं २०४३ मा स्वास्थ्य राज्यमन्त्री भएका थिए । त्यसअघि उनी शिक्षा र सञ्चार सहायक मन्त्रीसमेत बनेका थिए । गौचन विसं २०२४ मा बागलुङ जिल्लाबाट राष्ट्रिय पञ्चायतको सदस्यमा निर्वाचित भएका थिए । विसं २०४८ को चुनावमा गौचन नेपाली कांग्रेसका तर्फबाट बागलुङ क्षेत्र नं ३ को सांसदमा निर्वाचित भएका थिए ।
हातैले लेखेर वि सं २००८ सालमा ‘सहीबाटो’ नामको पत्रिका प्रकाशित गरेका थिए । जिल्लाको पत्रकारिताको इतिहासमा गौचनले हातैले लेखेको पत्रिकानै पहिलो भएको रेकर्ड छ ।
व्यापारका लागि झरेका गौचनले बागलुङमा शिक्षा र सामाजिक जागरण ल्याएको इतिहास छ । बाबुको अभियानकै क्रममा छोरा ओमकारप्रसादले पनि शिक्षाको विकासमा लगानी गरेको स्थानीय देबबहादुर श्रेष्ठले बताए । बीपी कोइरालाले २०१५ सालमा उम्मेदबार बनाउन खोज्दा आलोकाँचो छु भनेर उम्मेदवार हुन नचाहेका गौचन २०३६ सालमा खाद्य, कृषि तथा सञ्चार राज्यमन्त्री भएका थिए ।
राजनीतिसँगै समाजसेवामा समेत उत्तिकै सक्रिय गौचन लुम्बिनी विकास कोषका पूर्वउपाध्यक्षसमेत थिए । विसं २००३ मा बागलुङमा स्थापित विद्यामन्दिर पुस्तकालयको उनी प्रधान संरक्षक थिए । जिल्लाको शैक्षिक र सामाजिक सुधारमा गौचनको अमूल्य योगदान रहेको नागरिक समाज बागलुङका संयोजक काजी गाउँले श्रेष्ठले बताए ।
उनकै पालादेखि सामाजिक व्यक्तिलाई टेलिफोन लाइन वितरणको थालनी भएको थियो । उनका बाबुले १९९७ सालमा विद्यामन्दिर माध्यामिक विद्यालय र विद्यामन्दिर पुस्तकालय खोलेका थिए । दुवै संस्थाको पूर्वाधार विकासमा उनले लाखौं सहयोग गरेको बिद्यालयका प्रअ जगन्नाथ आचार्यले बताए । २०१६ सालमा पहिलो पटक विद्या मन्दिरमा एसएलसी दिएका लालचन्द्र राजभण्डारी भन्छन्, ‘त्यतिबेलाको शिक्षाको विकासमा गौचनका बाबुछोराले ठूलो लगानी गरेका थिए ।’ गौचनका एक छोरा र चार छोरी छन् ।