निजि अस्पतालहरुसँग सहकार्य गरेर जनतालाई स्वास्थ्य सेवा उपलब्ध गराउन प्रदेश सरकार तत्पर ः मन्त्री बराल

बुटवल,२७ कार्तिक ।
लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले प्रदेश सरकार निजि अस्पतालहरुसँग समन्वय र सहकार्य गरेर अगाडी बढ्ने रणनीति अख्तियार गरेको बताएका छन् ।

प्रदेश स्वास्थ्य निर्देशनालयद्धारा बुटवलमा आयोजित प्रदेश मातहतका स्वास्थ्य कार्यक्रमहरुको बार्षिक समिक्षा गोष्ठीको समापन कार्यक्रममा बोल्दै मन्त्री बरालले सरकारी अस्पतालहरुबाट मात्रै गरिब तथा बिपन्न नागरिकको स्वास्थ्य उपचार सम्भव नभएकोले प्रदेश सरकार निजि अस्पतालहरुसँग समन्वय र सहकार्य गरेर अगाडी बढ्ने रणनीति अख्तियार गरेको बताए ।

निजि अस्पतालहरुमा १० प्रतिसत बिरामीलाई निशुल्क सेवा दिनुपर्ने प्रावधान रहे पनि केही अस्पतालहरुले त्यसको बिबरण समेत सम्बन्धित निकायमा नबुझाउने गरेको र गरिब र बिपन्नका नाउमा हुनेखानेहरुले सूबिधा लिएका घटनाहरु बाहिर आएकोले वास्तविक गरिब र बिपन्न जनतालाई मात्रै सो सेवा उपलब्ध गराउन निजि अस्पताल सञ्चालकहरुलाई आग्रह गरे ।

देशमा मेडिकल कलेजहरु खुल्दा कसैलाई पनि घाटा नहुने भन्दै मन्त्री बरालले ७०÷८० लाख रुपयाँ तिरेर बिदेशी नागरिकले अध्ययन गर्ने मेडिकल कलेज धेरै खुल्दा मुलुकलाईनै फाइदा हुने दाबी गरे ।

अध्ययनका लागि विश्वका ५ लाख नागरिक अष्ट्रेलिया जान हुन्छ भने स्वास्थ्य शिक्षाका लागि बिदेशी नागरिक नेपाल ल्याउने कुरामा कन्जुस्याई गर्नुपर्ने कुनै कारण नरहेको बिचार व्यक्त गरे ।

बिदेशी दातृ निकायहरुले पनि प्रदेशको स्वास्थ्य क्षेत्रमा उल्लेख्य सहयोग रहेको बताउदै मन्त्री बरालले ती निकायहरुले सञ्चालन गर्ने क्षमता अभिबृद्धि,नीति निर्माण र गाइडलाइन जस्ता बिषयहरु बढि रहेकोले त्यसलाई सच्याउन समेत दातृ निकायका प्रतिनिधिहरुलाई सुझाव दिए ।

धेरै जिल्लामा कार्यक्षेत्र देखाउन एक जिल्लाको एउटा मात्रै पालिकामा कार्यक्रम सञ्चालन गर्नुभन्दा जुन जिल्लामा काम गर्ने हो सो जिल्लाका सबै पालिकाहरुमा कार्यक्रम सञ्चालन गर्न समेत उनले सुझाव दिए ।

कार्यक्रममा प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. बिनोद कुमार गिरीले सामाजिक विकास मन्त्रालयले जिल्ला अस्पतालहरुसँग सहकार्य गरेर गरिब तथा बिपन्न जनतालाई स्वास्थ्य सेवा उपलब्ध गराउने तयारीमा रहेको बताए ।

तीन दिन सम्म सञ्चालन भएको प्रदेश स्तरीय बार्षिक समिक्षा गोष्ठीमा १२ वटै जिल्लाका स्वास्थ्य कार्यालयहरु,सरकारी तथा नीजि अस्पतालहरुले आ आफ्नो जिल्ला क्षेत्र तथा अस्पतालहरुको कार्यक्रमहरु र त्यसबाट प्राप्त उपलब्धि तथा सुधार गर्नुपर्ने बिषयमा प्रस्तुतिकरण गरेका थिए ।

You might also like