बैतडीको खोड्पेमा बस दुर्घटना, ९ जनाको मृत्यु, ३४ घाइते
डोटी,२८ कार्तिक ।
बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा बस दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन् ।
दार्चुलाको गन्नाबाट महेन्द्रनगर आइरहेको ना ५ ख ५१४१ नम्बरको बस बिहीवार राति करिब साढे १० बजेतिर खोड्पे बजार नजिक दुर्घटना भएको हो ।
दुर्घटनामा परि आठ जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको हो ।
एसएसपी मुकेशकुमार सिंहका अनुसार मृतकहरुमध्ये एक जना प्रहरी जवान रणबहादुर चन्दको सनाखत भएको छ । बैतडी घर भएका उनी दाङको हापुरे इलाका प्रहरी कार्यालयमा कार्यरत थिए । उनको परिचयपत्रको आधारमा पहिचान खुलेको एसएसपी सिंहले बताए ।
घाइतेहरुको डडेलधुरा अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरुमध्ये सात जनाको अवस्था गम्भीर रहेको एसएसपी सिंहले जानकारी दिए । उनीहरुलाई थप उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढी रिफर गरिएको छ ।
बस बिहीबार साँझ पाँच बजेतिर दार्चुलाको गन्नाबाट महेन्द्रनगरतर्फ प्रस्थान गरेको थियो । बाटो पक्की भए पनि घुमाउरो बाटोमा चालकले सन्तुलन गुमाएकाले दुर्घटना भएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ । बस सडकबाट करिब पाँच सय मिटर तल खसेको छ ।