प्रहरी समायोजन अध्यादेश मन्त्रिपरिषद्को बैठकमा प्रवेश नपाउदाँ समायोजन प्रक्रिया लम्बियो

काठमाडौ २८ कार्तिक
राष्ट्रपतिले १ महिना अघि लालमोहर लगाएको प्रहरी समायोजन अध्यादेश मन्त्रिपरिषद्को बैठकमा प्रवेश नपाएपछि अहिले समायोजन प्रक्रिया अलपत्र परेको छ । नेपाल प्रहरीको समायोजनका लागि तयार पारिएको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) मन्त्रिपरिषद्ले पास नगरिदिँदा समायोजन प्रक्रिया अडकिएको होे । प्रहरी प्रधान कार्यालयले तयार पारी गृह मन्त्रालय पठाएको ओएनएम गृह मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाएको भए पनि मन्त्रिपरिषद्को बैठकमा यस विषयले प्रवेश नपाएपछि अहिले समायोजन प्रक्रिया अलपत्र बनेको हो ।
प्रहरी समायोजन अध्यादेशमा राष्ट्रपतिले लालमोहर लगाएको झन्डै एक महिना बितिसक्दा पनि नेपाल प्रहरीको समायोजन प्रक्रिया अगाडि बढ्न सकेको छैन ।
पूर्वनिर्धारित कार्यक्रमअनुसार तीन महिनामा समायोजन प्रक्रिया सम्पन्न गर्ने भनिए पनि अहिलेसम्म ओएनएम पास नहुँदा प्रक्रिया नै अगाडि बढ्न नसकेको प्रहरीे सोत्तले जनाएको छ ।
प्रधानमन्त्री केपी ओलीले नै समायोजन प्रक्रियामा चासो नदिएको कारण ओएनएम ले मन्त्री परिषद बैठकमा प्रवेश नपाएको गृहका एक उच्च अधिकारीले बताएका छन । प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुबेर कठायतले समायोजनको आन्तरिक काम तीव्ररुपमा भइरहेको र मन्त्रिपरिषद्ले ओएनएम पास गर्नासाथ काम तीव्र गतिमा अघि बढ्ने जानकारी दिनुभयो ।
ओएनएम स्वीकृत भए पनि प्रहरी कर्मचारी समायोजन गर्न डेढ महिना र पूर्ण समायोजनाका लागि कम्तीमा तीन महिना लाग्ने उहाँले बताउनुभयो । मुलुक संघीय संरचनामा परिवर्तन भएसँगै प्रहरीको समायोजन अत्यावश्यक रहेको उहाँले बताउनुभयो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता शंकर नेपालले प्रहरी समायोजन सम्बन्धी ओएनएम स्वीकृतिका लागि मन्त्रिपरिषद्को कार्यालयमा नभई सीधै मन्त्रिपरिषद् बैठकमा जाने भएकाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नभएको बताउनुभयो ।

You might also like