विदेशीको भरपर्दा नेपालको कृषि क्षेत्र फस्टाउन नसकेको ः मन्त्री भुसाल

 

बुटवल २८ कार्तिक
संघीय सरकारका कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसालले विदेशीको भरपर्दा नेपालको कृषि क्षेत्र फस्टाउन नसकेको बताउँदै कृषि अर्थतन्त्रको विकास सहकारीको जगमा हुने स्पष्ट पार्नुभयो ।
आर्थिक समृद्विको मूल आधार कृषि भएकोले यसको विकासका लागि कृषि मन्त्रालयले बजेटको ठूलो हिस्सा स्थानीय तहमा पठाएको बताउनुभयो ।
शुक्रबार नयाँमिलमा भएको लुम्बिनी विशिष्ट सहकारीको प्रारम्भिक साधारण सभामा मन्त्री भुसालले व्यक्ति छानेर अनुदान दिने परम्पराले कृषिमा उत्पादन नबढेको उल्लेख गर्दै आफू मन्त्री भएपछि व्यक्ति रोजेर अनुदान दिने परिपाटीको अन्त्य गरिएको बताउनुभयो । कृषि कार्यमा लाग्ने जोकोहीले पनि समान रुपमा पाउने गरी बिउबिजन, मल, कृषि औजार, विद्युत्, बीमामा अनुदानको व्यवस्था गरिएको उहाँले बताउनुभयो ।
टुहुरो बच्चा जस्तो कृषि क्षेत्रलाई अभिभावकत्व दिने काम आफूले गरिरहेको बताउँदै उहाँले ५ वर्षभित्र सबै कृषिउपज उत्पादनमा न्यूनतम बचतको सुनिश्चितता हुने स्पष्ट पार्नुभयो । किसानलाई बचाउन राज्यको यथेष्ट संरक्षण चाहिने बताउँदै मन्त्री भुसालले आफू यो विषयमा प्रयत्नशील रहेको बताउनुभयो । यस्तै लुम्बिनी प्रदेशकी भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले किसानलाई सहकारीको माध्यमबाट विनाब्याज ऋण दिने गरी प्रदेश सरकारले सहकारी कोषको व्यवस्था गरेको जानकारी दिनुभयो ।
लुम्बिनी प्रदेश सांसद विष्णु पन्थीले अर्थ व्यवस्थाको जग कृषि भएकोले कृषिलाई नाफाको व्यवसाय गराउनुको विकल्प नभएको बताउनुभयो । तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले सामूदायिक परियोजनामा तिनै तहका सरकारको सहभागिता हुनुपर्ने उल्लेख गर्दै लुम्बिनी विशिष्टिकृत सहकारी संघलाई नमुना बनाउने गरी तिलोत्तमा नगरले सहकार्य गर्ने प्रतिवद्वता जनाउनुभयो ।
कार्यक्रममा राष्ट्रिय सहकारी संघका केन्द्रिय सदस्य भिमप्रसाद तुलाचन, प्रदेश सहकारी संघका अध्यक्ष पे्रम सुवेदी, बचत तथा ऋण सहकारी संघका महासचिव दामोदर अधिकारी लगायतले कृषि क्षेत्रको विकासमा सहकारीहरुलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभयो । संघका अध्यक्ष डा. खगराज शर्माको अध्यक्षता, ज्ञानु पौडेलको स्वागत र जयकिसन अधिकारीको सञ्चालनमा कार्यक्रम भएको थियो ।

You might also like