लक्ष्मी पूजा गर्ने क्रममा ठाउँ–ठाउँमा आगलागी, लाखौं रुपैयाँको नोक्सानी

काठमाण्डौ,३० कार्तिक ।
लक्ष्मी पूजा गर्ने क्रममा शनिबार साँझ देशका विभिन्न ठाउँमा आगलागी भएको छ ।
आगलागीका कारण २० लाख रुपैयाँभन्दा धेरैको नोक्सानी भएको प्रहरीले जनाएको छ ।

सप्तरीको विष्णुपुर गाउँपालिका ६ मा मिठाई र साइकल पसलमा आगलागी हुँदा साढे नौ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । लक्ष्मी पूजा गर्ने क्रममा शनिबार राति पौने १२ बजे बिद्युत शर्ट हुँदा आगो लागेको प्रहरीले जनाएको छ ।

झापाको बिर्तामोडमा रहेको वर्कशपमा आगलागी हुँदा पाँच लाख रुपैयाँ बराबरको क्षति भएको छ । लक्ष्मी पूजा गर्न बालिएको दियोबाट आगो सल्किँदा आगलागी भएको हो । यस्तै धादिङको धुनबेसी नगरपालिका ४ को जीवनपुरमा उद्धव घिमिरेले सञ्चालन गरेको फेन्सी पसलमा पनि दियोबाट आगो सल्किँदा पाँच लाख रुपैयाँ बराबरको नोक्सानी भएको छ ।

यसैगरी भक्तपुरको मध्यपर थिमी नगरपालिका ४ मा कञ्चन सहनीको मोटर वर्कशपमा लक्ष्मी पूजा गर्दा बालिएको दियोबाट आगो सल्किँदा दुई लाख रुपैयाँभन्दा धेरैको नोक्सानी भएको छ ।

सर्लाहीको मलङ्गवा नगरपालिका पनि कैलाश शाहको सिलाई पसलमा लक्ष्मी पूजा गर्ने क्रममा बालेको दियोबाट आगो सल्किँदा एक लाख रुपैयाँ बराबरको नोक्सानी भएको प्रहरीले जनाएको छ । यी सबै ठाउँमा लागेको आगो स्थानीयको सहयोगमा निभाइएको प्रहरीले जनाएको छ ।

You might also like