मोर्डेनाले बनाएको कोरोना भाइरसविरुद्धको भ्याक्सिन ९५ प्रतिशत प्रभावकारी रहेको दाबी
काठमाण्डौ,१ मंसिर ।
अमेरिकी बायोटेक्नोलोजी कम्पनी मोर्डेनाले विकास गरेको कोरोना भाइरसविरुद्धको भ्याक्सिन ९५ प्रतिशत प्रभावकारी रहेको दाबी गरिएको छ ।
बायो एन्ड टेक कम्पनीले विकास गरेको फाइजर भ्याक्सिन ९० प्रतिशत प्रभावकारी रहेको सार्वजनिक भएसँगै भ्याक्सिन बनाइरहेका कम्पनीहरूले भ्याक्सिनको प्रभावकारिता दर दाबी गर्ने होड नै चलेको छ ।
यसअघि रुसी कम्पनीले विकास गरिरहेको स्पुतनिक–५ पनि ९२ प्रतिशत प्रभावकारी भएको दाबी गरिएको थियो । तर यी कुनै पनि दाबीमा नियामक निकायले भने प्रमाणिकरण गरिसकेको छैन । विश्व स्वास्थ्य संगठनले भ्याक्सिन विकासको तेस्रो चरण चलेको बताउँदै आएको छ ।
मोर्डेनाले भने अबका केही सातामा नै भ्याक्सिन स्वीकृतिका लागि आवेदन दिइने बताएको छ ।
फाइजर भ्याक्सिन स्टोर गर्न भन्दा मोर्डेना स्टोर गर्न सजिलो हने जनाइएको छ । मोर्डेनाका लागि माइनस २० डिग्री सेल्सियसको तापक्रममा स्टोर गर्न सकिने बताइएको छ । फाइजर भ्याक्सिन स्टोर गर्नका लागि माइनस ७५ डिग्री सेल्सियस तापमान चाहिने बताइएको थियो ।