नेपालमा थप ५०२ जनामा कोरोना संक्रमण, २४ घण्टामा ३ हजार मात्रै पीसीआर परिक्षण

बुटवल,२ मंसिर ।
नेपालमा मंगलबार थप ५ सय २ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा ३ हजार १ सय १२ नमुना परीक्षण गर्दा २ सय ४ महिला र २ सय ९८ पुरुष गरी ५ सय २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मंगलबार पुष्टि भएका संक्रमितहरुमध्ये ३ सय ३९ जना काठमाडौं उपत्यकाका रहेका छन् ।

यससँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ११ हजार ४ सय ७५ पुगेको छ । नेपालमा हालसम्म १ लाख ७९ हजार २ सय ४२ जना कोरोना संक्रमित निको भएर घर फर्कीएका छन् ।
पछिल्लो २४ घण्टामा नेपालमा थप १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
नेपालमा हालसम्म १ हजार २ सय ४७ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
हाल देशभर ३० हजार ९ सय ८६ सक्रिय संक्रमित रहेका छन् ।
हाल १ हजार ३ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

देशभर कोरोना संक्रमितको संख्या बढेसँगै होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ ।
मंगलबार ३० हजार ९ सय ८६ जना सक्रिय संक्रमितमध्ये २८ हजार २ सय ७ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ ।

यो तथ्यांक अनुसार ९१ प्रतिशतभन्दा बढी कोरोनाका सक्रिय संक्रमित घरमा नै रहेको देखिएको हो । तर होम आइसोलेसनमा बसेकाहरूको उपचार तथा हेरचाहमा भने सरकारले चासो देखाएको पाइएको छैन ।

मन्त्रालयका अनुसार सबैभन्दा धेरै बाग्मती प्रदेशमा १८ हजार ७ सय ३५ जना होम आइसोलेसनमा छन् ।

त्यस्तै प्रदेश १ मा ३ हजार ४ सय २, प्रदेश २ मा ६ सय ८४, लुम्बिनी प्रदेशमा २ हजार २ सय ३, सुदूरपश्चिम प्रदेशमा १ हजार ५, गण्डकी प्रदेशमा १ हजार ९ सय ६५ र कर्णाली प्रदेशमा २ सय १३ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

You might also like