नेकपा सचिवालय बैठक सुरु,दुवै अध्यक्ष सहित सबै सदस्य सहभागि

काठमाडौँ,३ मंसिर ।
सत्तारुढ दल नेकपा (नेकपा) को सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो एक बजे बैठक सुरु भएको हो ।

पूर्वनिर्धारीत समय दिउसो एक बजे सुरु भएको बैठकमा पार्टीका दुवै अध्यक्ष केपी शर्मा ओली, पुष्पकमल दाहालसहित सचिवालयका नौ जनै सदस्य सहभागी भएको बालुवाटार स्रोतले जनाएको छ ।

यसअघि प्रधानमन्त्री ओलीले बुधबार दिउँसो एक बजेका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक दुई बजेलाई सारेका थिए । नेकपाको सचिवालय बैठककै समय पारेर मन्त्रिपरिषद् बैठक बस्दा गलत सन्देश जाने भएकाले बैठक सारिएको बालुवाटार स्रोतले बतायो ।

कात्तिक २८ को सचिवालय बैठकमा प्रस्तुत भएका प्रस्ताव तथा पत्रमाथि ३ मंसिरमा छलफल गर्ने तय भएको थियो । तर, प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले बुधबारको सचिवालय बैठक सार्न प्रयास गरिरहेका थिए। अध्यक्ष ओलीको सन्देश लिएर पार्टी महासचिव विष्णु पौडेल मंगलबार बिहान अर्का अध्यक्ष पुष्पकमल दाहालकहाँ पुगेका थिए ।

दाहालले प्रधानमन्त्री उपस्थित नभए पनि बुधबार बैठक बस्ने अडान राखेपछि पौडेल फर्किएका थिए । त्यसपछि साँझ बालुवाटारमा ओलीले आफू निकट नेताहरुसँग सघन संवाद पनि गरेका थिए ।

यस्तै, मंगलबार राति नै नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले प्रधानमन्त्री ओलीसँग भेटघाट गरेकी छिन् । रातदूत यान्छीसँगको भेटलगत्तै प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका थिए । बैठक अघि प्रधानमन्त्री ओलीले आज पनि राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवास पुगेका थिए ।

You might also like