१० दिनपछि पुन ः बस्नेगरी सकियो नेकपा सचिवालय बैठक

१८ गते स्थायी कमिटी र २५ गते केन्द्रीय कमिटी बैठक बस्ने सहमति
काठमाडौँ,३ मंसिर ।
१० दिनपछि पुन ः बस्नेगरी सत्तारुढ दल नेकपाको सचिवालय बैठक सकिएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार दिउँसो बसेको बैठकले पुनः १० दिनपछि बस्ने गरी सकिएको प्रधान्मन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

आगामी बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले पनि आफ्नो प्रस्ताव पेश गर्नेे प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

अध्यक्ष ओलीको प्रस्ताव र यसअघि नै सचिवालयमा पेश भएका दस्तावेजहरु समेतलाई लिएर १३ गते बस्ने सचिवालयको बैठकमा छलफल हुने छ ।

बैठकले स्थायी कमिटीको बैठक मंसिर १८ गतेलाई बोलाउने निर्णय पनि गरेको छ । यस्तै यसअघि मंसिर १५ लाई तय भएको केन्द्रीय कमिटीको बैठक मंसिर २५ गतेसम्मलाई सरेको छ ।
कार्तिक २८ को सचिवालय बैठकमा प्रस्तुत भएका प्रस्ताव तथा पत्रमाथि छलफल गर्न बुधबारलाई बैठक तय भएको थियो ।
प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली पक्ष रक्षात्मक बनेपछि पार्टी भित्रको सम्भावित ‘दुर्घटना’ टरेको छ ।

पछिल्लो २४ घण्टामा नेताहरुको विभिन्न तहमा देखिएको सक्रियता तथा ओली पक्ष आफ्नो अडानबाट केही पछि हटेपछि फुटको संघारमा पुगेको नेपाको विवाद तत्कालका लागि केही मत्थर हुने संकेत देखिएको छ ।

पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको ओलीले एक पद छोड्नु पर्ने मागसहितको प्रस्ताव फिर्ता लिनु पर्ने अडानमा रहेका ओली सचिवालय बैठकमा सहभागी हुन तयार भएका छन् ।

ओलीले बुधबार दिउँसो १ बजेका लागि सचिवालय बैठकसँग बाझिने गरि बोलाएको मन्त्रीपरिषद बैठक एक घण्टा पछि सारेर लचकता देखाएका हुन् ।

उनको यो निर्णय पछिल्लो डेढ महिनामा रक्षात्मक रणनीति अन्तर्गत लिइएको पहिलो निर्णय हो ।

मंगलबार ओलीले चिनियाँ राजदूत तथा राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटेका थिए । यस्तै प्रचण्डले पनि मंगलबार राष्ट्रपतिसँग भेट गरेका थिए ।

ओली बुधबार बिहान पनि राष्ट्रपतिसँग भेटका लागि शीतल निवास गएका थिए ।

पछिल्लो एक दिनमा विवाद समाधानको प्रयास तथा पार्टीलाई फुटबाट जोगाउनका लागि खुमलटार, बालुवाटार तथा कोटेश्वरमा नेताहरुको लगातार सक्रियता देखिएको थियो ।
यसअघि ओली पक्षका नेताहरुले सार्वजनिक रुपमै प्रचण्डको प्रस्ताव फिर्ता नभएसम्म संवाद नै नगर्ने खुला रुपमा बताउँदै आएका थिए ।

पार्टी प्रवक्ता समेत रहेको प्रचण्ड पक्षका नेता नारायणकाजी श्रेष्ठले सुरु देखिकै आफूहरुको अडान अनुसार बैठक राख्न सफल भएको बताएका छन् ।

You might also like