नेकपा बिवाद ः कि म हट्छु, कि प्रचण्ड हट्नुपर्छ– ओली


आफुमाथि लगाइएका आरोपहरु ओलीद्धारा खारेज

काठमाडौं, ४ मंसिर ।
सत्तारुढ दल नेकपा भित्रको आन्तरिक बिवाद केही मत्थर भएको अडकलवाजी भैरहेका बेला बिवाद वार पारको मोडमा पुगेको तथ्य बाहिर आएको छ ।

बुधबार बसेको सचिवालय बैठक मंसिर १८ गत स्थायी कमिटी र मंसिर २५ केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गर्दै १० दिनका लागि स्थगित भएको थियो ।

बिवाद,आशंका र अन्यौलकाबीच बसेको सचिवालय बैठक स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकको मिति तय गर्दै १० दिनपछि बस्नेगरी स्थगित भएका खबर सार्वजनिक भएसँगै नेकपा भित्रको आन्तरिक बिवाद हाललाई केही मत्थर भएको धेरैको अनुमान थियो ।

आफुमाथि लगाइएका आरोपहरु फिर्ता नलिएसम्म बैठक बस्न नसक्ने अडानमा रहेका बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली अन्तिम समयमा आएर बैठकमा सहभागि भए ।

सचिवालय बैठकमा अध्यक्ष ओलीले आफूमाथि अर्का अध्यक्ष प्रचण्डले लगाएका आरोप सही नभए प्रचण्ड कार्यकारी अध्यक्ष पदबाट हट्नुपर्ने र आरोप सही भए आफू पदबाट हट्ने बताएको बालुवाटार स्रोतले जनाएको छ ।

पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डले सचिवालय बैठकमा पाँच जना सचिवालय सदस्यहरुको समेत समर्थनमा राजनीतिक प्रस्ताव पेश गरेका थिए ।

सो प्रस्तावमा सरकार र ओलीको व्यक्तिगत कार्यशैलीमासमेत प्रश्न उठाइएको छ । त्यसलाई ओली र ओली पक्षीय नेताहरुले राजनीतिक प्रस्ताव नभइ ‘आरोप पत्र’ मात्र भएको बताउँदै आएका छन् ।

सो ‘आरोप पत्र’ फिर्ता नभएसम्म अर्को बैठकमा नबस्ने अडान लिए पनि बुधबार अन्तिम समयमा बैठकमा सहभागी भएका ओलीले १० दिनपछि त्यसको जवाफ दिने बताएका छन् ।

बैठकमा आफ्ना धारणा राख्दै ओलीले आफूलाई अध्यक्ष र प्रधानमन्त्री दुईवटै पदबाट हटाउने तयारी गरिएको भन्दै आफूले पनि कार्यकारी अध्यक्ष प्रचण्डलाई पदबाट हट्न भन्यो भने के हुन्छ ? भनी प्रश्न गरेका थिए ।

सचिवालयमा आफू अल्पतमा परेको भनेर सार्वजनिक भइरहेका समाचारहरुलाई समेत उनले खारेज गरे ।

नेकपाको नौ सदस्यीय सचिवालयमा प्रचण्ड पक्षतिर प्रचण्डसहित, झलनाथ खनाल, माधव नेपाल, बामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ छन् ।

ओली पक्षमा ओलीसहित, महासचिव विष्णु पौडेल, ईश्वर पोखरेल छन् । गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा (बादल) खुलेर प्रचण्डतिर नदेखिएकाले उनको कित्ता छुट्टिएको छैन ।

मिलेर मात्रै पार्टी बचाउन सकिने बताउँदै प्रधानमन्त्री ओलीले जालझेल र तिक्डम गरेर पार्टी नबच्ने बताए ।

आफुमाथि लगाइएका आरोपहरु खारेज गर्दै उनले बैठकमा भने– ‘आज म त्यो लाञ्छना पत्र, जो मलाई दिइएको थियो,त्यस पत्रका सम्पूर्ण आरोप, अभियोग,लाञ्छना, तिरस्कार, अपमान सबै खारेज गर्छु ।

यो मेरो राजनीतिक जीवन नै सिध्याउने गरी ल्याइएको आरोप पत्रलाई म पूर्ण रूपमा अस्वीकार गर्छु । त्यसको यथोचित जवाफ म लिखित रूपमा नै प्रस्तुत गर्नेछु ।’

You might also like