तिलोत्तमाका सामुदायिक तथा संस्थागत विद्यालय मंसिर ७ बाट खुल्ने

कोरोना संक्रमित भएका घरका विद्यार्थी एवं ज्वरो तथा रुघाखोकी लागेका विद्यार्थी र कक्षा १ भन्दा तलका विद्यार्थी भने विद्यालय जान नपाउने

बुटवल, ४ मंसिर ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकाका सामुदायिक तथा संस्थागत विद्यालयहरु यहीँ मंसिर ७ गतेबाट खुल्ने भएका छन् ।

कोरोना महामारीको कारण गत चैतदेखि बन्द रहेका विद्यालयहरु विद्यार्थीलाई भौतिक रुपमैं कक्षाकोठामा शिक्षणसिकाई क्रियाकलापमा सहभागी गराउने गरी खुल्ने भएका हुन् ।

संघीय सरकारले तय गरेको विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचाअनुसार जनस्वास्थ्य प्रोटोकल मापदण्ड अवलम्बन गरी विद्यार्थीको पठनपाठन सुचारु गर्ने निर्णय भएको शिक्षा शाखा प्रमुख गंगाराम आचार्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार नगर शिक्षा समितिको विस्तारित बैठकमा छलफल भई नगरस्तरीय कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले बिहीबार पारित गरेको मापदण्डमा रहेर विद्यालय खुल्ने भएका हुन् ।

तोकिएको मापदण्डअनुसार विद्यालय सञ्चालन भए÷नभएको अनुगमन गर्न जनप्रतिनिधि, राजनीतिक दल, शिक्षक संघ–संस्था, प्याब्सन, एनप्याब्सनका प्रतिनिधि रहेको अनुगमन समिति समेत गठन गरिएको जनगरपालिकाले जनाएको छ ।

मापदण्डअनुसार विद्यालयले कक्षाकोठा भित्र विद्यार्थीहरुको भौतिक दुरी कायम गर्न एक बेञ्चमा दुई जना विद्यार्थी मात्र राख्ने व्यवस्था मिलाउनु पर्नेछ ।

विद्यार्थी संख्या, भौतिक पूर्वाधारको उपलब्धता समेतको आधारमा कक्षा एकदेखि आलोपालो विधिबाट कक्षा सञ्चालन गर्ने मापदण्ड तय गरिएको छ ।

ज्वरो तथा रुघाखोकी लागेका विद्यार्थी वा एकाघरका सदस्य कोरोना संक्रमित भएमा ती परिवारका विद्यार्थीलाई विद्यालय पठाउन पाइने छैन ।

मापदण्डअनुसार अर्को निर्णय नहुँदासम्म विद्यालयले कक्षा १ भन्दा तल प्लेगु्रप, नर्सरी, एलकेजी, युकेजीका विद्यार्थीलाई विद्यालय बोलाउन पाउने छैनन् ।

विद्यार्थी, शिक्षक, कर्मचारी विद्यालय हाताभित्र प्रवेश गर्दा अनिवार्य रुपमा साबुन पानीले हातधुने, मास्क लगाउने, तापक्रम मापन गर्ने व्यवस्था सम्बन्धित विद्यालयले मिलाउनु पर्ने मापदण्डमा भनिएको छ ।

यस्तै चार सयभन्दा बढी विद्यार्थी संख्या भएका विद्यालयले अनिवार्य रुपमा कम्तिमा एक जना विद्यालय नर्सको व्यवस्था गर्ने तथा सोभन्दा कम विद्यार्थी भएका विद्यालयले नजिकको सरकारी स्वास्थ्य संस्थासँग समन्वय र सम्पर्क गरी आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउनु पर्ने पनि मापदण्डमा उल्लेख छ ।

विद्यालयहरुले व्यवस्थापन समिति, शिक्षक, अभिभावक, विद्यार्थी लगायत सरोकारवाला सबैलाई समेटी मापदण्डअनुसार कक्षा सञ्चालन कार्ययोजना बनाई मंसिर १० गतेभित्र नगरपालिकाको शिक्षा शाखामा अनिवार्य रुपमा पेश गर्न नगरपालिकाले निर्देशन दिएको छ ।

You might also like