छठ पर्वको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिई मनाइँदै

काठमाण्डौ,५ मंसिर ।
छठ पर्वको मुख्य दिन आज (शुक्रबार) साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना र अर्घ्य दिई मनाइँदैछ ।

कार्तिक शुक्ल चतुर्थी बुधबारदेखि सुरु भएको छठ पर्व सप्तमीसम्म मनाइने गरिन्छ । कोरोना महामारीका कारण यसवर्ष घरघरमै छठ पर्व मनाउने तयारी भइरहेको छ । सरकारले पनि घरमै छठ पर्व मनाउन अनुरोध गरेको छ ।

छठ पर्वको पहिलो दिन स्नान गरी एक छाक खाएर बस्ने र दोस्रो दिन कार्तिक शुक्ल पञ्चमीमा सखर हालेर बनाइएको खीर (खरना) षष्ठी मातालाई चढाएर व्रतालुले प्रसादस्वरुप खाने र नुन नखाएरै एक छाक फलाहार बस्ने गरिन्छ ।

यो पर्वको मुख्य दिन कार्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत बसी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिने विधिविधान छ । षष्ठीका दिन रातभर जागा बसी कात्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिएपछि यो पर्व समापन हुन्छ ।

तराईको सीमित क्षेत्रमा मनाइने छठ विसं २०४६ यता राष्ट्रिय स्वरुप ग्रहण गरेको छ । छठ पर्वका लागि राजधानीको गुह्येश्वरी, गहनापोखरी, कमलपोखरी, वागमती, नख्खु र विष्णुमतीलगायत नदी किनारमा सजावट गर्ने गरिएकामा यस वर्ष कोरोना महामारीका कारण सुनसान प्रायः छ ।

कात्तिक शुक्ल षष्ठीको बेलुकी गुह्येश्वरी र कमलपोखरीमा राष्ट्रपतिले समेत छठ पूजा गर्नुहुने कार्यक्रम यस वर्ष कोरोना भाइरसका कारण स्थगित गरिएको जनाइएको छ । यस वर्ष कोरोना महामारीबाट बच्न प्रशासनले भीडभाड नगरि छठ पर्व मनाउन आह्वान गरेको छ ।

You might also like