वायु प्रदूषणले कोरोना सङ्क्रमण र ज्यान जाने सम्भावना बढी ः विज्ञ

काठमाण्डौ,५ मंसिर ।
वायु प्रदूषण बढी भएको ठाउँमा बस्ने मानिसमा कोरोना भाइरसको संक्रमणको सम्भावना बढी हुने अध्ययनले देखाएको छ ।

कोरोना संक्रमणबाट ज्यान गुमाउनेमध्ये झण्डै १५ प्रतिशत वायु प्रदूषण नै कारण हुने गरेको वातावरण संरक्षणसँग सम्बन्धित विज्ञहरुले बताएका छन् ।

नेपालमा मानिसको ज्यान जाने प्रमुख तीन कारणमध्ये मुटुसम्बन्धी रोग, फोक्सोसम्बन्धी रोग र मस्तिष्कघात हुन् ।

यी तीनै रोगको सम्बन्ध वायु प्रदूषणसँग पनि रहेकोले यी तीन रोगको समस्या रहेका कोरोना संक्रमितको ज्यान जाने सम्भावना बढी रहेको विज्ञहरुको निष्कर्ष छ ।

नेपालमा आवश्यक मापदण्ड भन्दा पाँच गुणा बढी वायु प्रदूषण रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य समन्वय महाशाखा प्रमुख डा. जागेश्वर गौतमले बताउनुभयो ।

फोक्सो र मुटु रोग तथा मस्तिष्कघातको प्रमुख कारकमध्ये वायु प्रदूषण पनि एक भएको उहाँको भनाई छ ।

सन् २०१८ मा वायु प्रदूषणका कारण नेपालमा ३७ हजार व्यक्तिको ज्यान गएको तथ्याङ्क छ । विश्व स्वास्थ्य संगठन नेपालका जनस्वास्थ्य प्रशासक डाक्टर खुर्सिद आलम हाइडरले वायु प्रदूषणले कोभिड–१९ को संक्रमण र मृत्युदर दुवै बढाउने बताउनुभयो ।

वायु प्रदूषण नियन्त्रणका लागि नगरपालिकाहरुलाई प्राविधिक सहयोग गर्न संगठन तयार रहेको पनि उहाँले बताउनुभएको छ ।

वातावरणविद् सञ्जयनाथ खनालले वायु प्रदूषण नियन्त्रणका लागि ट्राफिक व्यवस्थापन तथा यातायातमा सुधार, सडकमा धुलो नियन्त्रण, उद्योगमा सुधार र फोहर जलाउने काम बन्द गर्नुपर्नेमा जोड दिनुभएको छ ।

हरेक वर्ष जाडो महिनामा वायु प्रदूषण सबैभन्दा बढी हुने र आउँदो दुई÷तीन महिनामा काठमाण्डौको वायु प्रदूषण ह्वात्तै बढ्ने वातावरण विभागका उप–महानिर्देशक इन्दु जोशीको दाबी छ ।

You might also like