भारतको अहमदाबादमा आजदेखि रातमा कर्फ्यु

काठमाण्डौ,५ मंसिर ।
कोरोना संक्रमण बढ्दै गएको भन्दै भारतको अहमदाबादमा आजदेखि रातको समयमा कर्फ्यु लगाइने भएको छ ।

अहमदाबादमा कोरोना संक्रमण बढ्दै गएकाले गुजरात सरकारले रातको समयमा कर्फ्यु लगाउने निर्णय गरेको समाचार एजेन्सी पीटीआईले जनाएको छ ।

अहमदाबाद गुजरात राज्यको सबैभन्दा ठूलो सहर हो । कर्फ्यु राति नौ बजेदेखि बिहान ६ बजेसम्म लागू हुनेछ । कहिलेसम्म कर्फ्यु लागू हुन्छ भन्नेबारेमा खुलाइएको छैन ।

अहिलेसम्म अहमदाबादमा ४६ हजारभन्दा धेरै संक्रमित भइसकेका छन् । गुजरातको स्वास्थ्य मन्त्रालयका अनुसार गुजरातमा कोरोना संक्रमितको संख्या एक लाख ९२ हजार ९ सयभन्दा धेरै पुगिसकेका छन् भने ३ हजार ८ सय ३० जनाको ज्यान गइसकेको छ ।

यसअघि भारतको दिल्ली सरकारले सार्वजनिक ठाउँमा मास्क नलगाउनेलाई २ हजार भारतीय रुपैयाँ जरिवाना तिराउने निर्णय गरिसकेको छ । पछिल्लो समय भारतमा कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको छ । अमेरिका कोरोनाबाट सबैभन्दा धेरै प्रभावित हुने देश हो भने भारत दोस्रो स्थानमा रहेको छ ।

अमेरिकामा एक करोड २० लाखभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको छ भने भारतमा ९० लाखभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भैसकेको छ । भारतमा कोरोनाका कारण एक लाख ३२ हजारको ज्यान गएको वल्ड्रोमिटरको तथ्याङ्कमा जनाइएको छ ।

You might also like