वालिङमा ‘जनस्वास्थ्य विपद्’ घोषणा, एक हप्ता अत्यावश्यक बाहेकका सेवा बन्द

स्याङ्जा,५ मंसिर ।
स्याङ्जाको वालिङ नगरपालिकाले जनस्वास्थ्य विपद् घोषणा गरेको छ ।
जनस्वास्थ्य विपद् घोषणासँगै एक हप्ताका लागि नगरपालिकामा अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको वालिङ नगर कार्यपालिकाको बैठकले वालिङ नगरपालिकाका १४ वटै वडामा संक्रमणको दर वृद्धि भएसँगै जोखिम न्यूनीकरणका लागि एक हप्ता बन्द गर्ने निर्णय गरेको हो ।
वालिङको गह्रौँ प्राथमिक अस्पतालको ‘¥यापिड रेस्पोन्स टिम’को बैठकले वालिङमा कोभिड संक्रमितकोे संख्या बढ्दै गएकोले १० दिन लकडाउन गर्न सिफारिस गरेको र नगरस्तरीय कोभिड–१९ संक्रमण व्यवस्थापन केन्द्रको सिफारिसका आधारमा नगर कार्यपालिकाको बैठकले ‘जनस्वास्थ्य विपद्’घोषणा गरी एक हप्ता बन्द गर्ने निर्णय गरेको नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो ।

‘लकडाउन (बन्दाबन्दी) सुरु भएको अवस्थादेखि असोजसम्ममा भारतलगायत तेस्रो देशबाट आइ क्वरेण्टीनमा बस्नेहरूमा भन्दा कार्तिक महिनामा मात्रै संक्रमणको दर समुदायस्तरमा बढेकाले जनस्वास्थ्य विपद् घोषणा गरी बन्द गरेको नगर प्रमुख खाँणले बताउनुभयो ।

जनस्वास्थ्य ऐन २०७५ को दफा ४८ को उपदफा ४ एवं जनस्वास्थ्य नियमावली २०७७ को नियम २७ को उपनियम ४ ले दिएको अधिकार प्रयोग गरी जनस्वास्थ्य विपद् घोषणा गरी मानिसहरुको भिडभाड हुने स्थान, बैंक तथा वित्तीय संस्था, सरकारी तथा गैरसरकारी कार्यालय, विद्यालय, बजार, पसल, अत्यावश्यक बाहेकका सवारी साधन, सभा समारोह नगर्न नगराउन अनुरोध गरिएको नगर उपप्रमुख कल्पना तिवारीले जानकारी दिनुभयो ।

नगरपालिकाभित्र सभा समारोह, धार्मिक एवं सांस्कृतिक कार्यहरुमा २५ जनाभन्दा बढी भेला हुन नदिने र एक हप्ताको अवधिलाई बन्दाबन्दी घोषणा गर्न जिल्ला कोभिड संक्रमण व्यवस्थापन समितिमा सिफारिस गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले बताउनुभयो ।

वालिङ नगरपालिकामा अहिलेसम्म एक सय ६९ जना संक्रमित भएकामा एक सय ४३ जना निको भएर घर फिर्ता भएका छन् भने अहिले २३ जना सक्रिय संक्रमित आइसोलेशनमा रहेको स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डेले बताउनुभयो । हालसम्म वालिङका तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

वालिङ नगरपालिकाले अहिलेसम्म एक हजार ६ सय २२ जनाको पीसीआर परीक्षण गरेको जनाएको छ ।

You might also like