कोरोना महामारीमा पनि सरकार रमिते बन्यो, आफ्नो सुरक्षा आफैँ गरौँ ः कांग्रेस नेता सिंह

काठमाडौं,७ मंसिर ।
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कोरोना महामारीको बेलासमेत सरकार रमिते बनेको बताउनु भएको छ ।

आज आफ्नो निर्वाचन क्षेत्रका मतदाताहरूसँगको भेटघाटका क्रममा नेता सिंहले यस्तो विषम परिस्थितिमा समेत सरकार भ्रष्टाचारमा लिप्त रहेको र जन जीविकाको सवालमा गैरजिम्मेवार बनेको आरोप लगाउनु भएको हो ।

यो सरकार स्वार्थमा डुबेको र भ्रष्टाचारमा लिप्त रहेको भन्दै पूर्व उपप्रधानमन्त्रीसमेत रहेका सांसद सिंहले भन्नुभयो, ‘मुलुकका तमाम समस्यामा सरकार बेखबर छ ।

यो लोकतन्त्रवादीहरूका लागि समेत अशोभनीय हो ।’ सरकारले संघीयताको मर्म र भावनाअनुसार नीति निर्माणमा समेत चासो नदिनु दुःखद भएको उहाँको भनाइ थियो ।

प्रतिपक्षीको रूपमा कांग्रेसले कोरोना लगायतका विषयमा कुरा उठाए पनि सरकारले बेवास्ता गरेको आरोप लगाउदै उहाँले भन्नुभयो– ’कांग्रेसले भन्नुपर्ने ठाउँमा भनेकै छ, बोल्नुपर्ने ठाउँमा बोले कै छ तर यो सरकारले सुन्दैन । यो सरकारले न जनताको आवाज सुन्छ, न प्रतिपक्षीको ।’

सरकारले कोरोना महामारीको बेला गर्नुपर्ने न्युनतम काम पनि गर्न नसकेको भन्दै उहाँले अब आफ्नो सुरक्षामा आफैं लाग्नुपर्ने अवस्था आएको बताउनुभयो ।
नेता सिंहले अब संसद बैठक तत्काल डाकेर हरेक विषयमा छलफल हुनुपर्ने आवस्यकता औल्याउनुभयो ।

You might also like