तस्करको सामान नियन्त्रणमा लिने क्रममा विराटनगरमा हवाई फायर

विराटनगर,७ मंसिर ।
भन्सार छलरे भारतबाट ल्याइएको सामान नियन्त्रणमा लिने क्रममा बिराटनगरमा प्रहरीले हवाई फायर गरेको छ ।

विराटनगर–१७ मटेरुवामा आइतबार बिहान प्रहरीले हवाई फायर गरेको हो ।
हवाई फायरपछि प्रहरीले तस्कर गरी ल्याएको एक बोरा बेल्ट(पेटी) र त्यसमा संलग्न रहेको अभियोगमा विराटनगरकी ३३ वर्षीय रविना खातुनलाई नियन्त्रणमा लिएको छ ।

भन्सार छली गरेर भारतबाट अवैध रुपमा तस्करीका सामान लिएर आउँदै गरेको तस्कर समूहलाई सादा पोसाकमा खटिएको प्रहरी टोलीले रोक्न खोज्दा बिहान ४ बजेतिर अवस्था तनावपूर्ण बनेको प्रहरीले जनाएको छ ।

सादा पोसाकमा रहेका दुई जना प्रहरीले तस्करीको सामान नियन्त्रणमा लिन खोज्दा हुलहुज्जत गरेर एक दर्जन बढीको संख्यामा रहेका तस्करले अवरोध पु¥याएपछि एक राउण्ड हवाई फायर गरिएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिनुभयो ।

पक्राउ परेकी महिलाविरुद्ध आवस्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । प्रहरीले फरार भएकाहरूको पनि खोजी कार्य तीव्र बनाएको प्रहरीको भनाई छ ।

प्रहरी र तस्कर समूहबीच भएको दोहोरो घम्साघम्सीका क्रममा एक जना प्रहरी जवानको हातको औंलामा चोट लागेको छ ।

You might also like