विप्लव नेतृत्वको नेकपाका एक सैन्य कमाण्डर हतियारसहित पक्राउ

मोरङ, ७ः मंसिर ।
सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका एकजना सैन्य कमाण्डर उर्लाबारी बाट पेस्तोलसहित पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ताप्लेजुङको फक्ताङ्लुङ् गाउँपालिका–२ घर भई मोरङमा बस्दै आएका ३२ वर्षीय पेम्बा साङ्गे शेर्पा रहेका छन् । उनलाई शनिबार साँझ उर्लाबारी नगरपालिका–६ तरुण चोकबाट पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिनुभयो ।

शेर्पाको साथबाट मेड इन यूएसए लेखिएको एउटा पेस्तोल, म्यागजिन, तीन राउण्ड गोली, पार्टीको पर्चा र पम्प्लेट तथा अन्य दास्तावेजहरु पनि बरामद गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका शेर्पा ‘विप्लव’ समूहको ४ नम्बर कम्पनीका सेक्सन कमान्डर भएको खुलेको छ । उनलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ ।
उनले मोरङको मिक्लाजुङ गाउँपालिका क्षेत्रमा बसेर लामो समयदेखि ‘विप्लव’ समूहको गतिविधी सञ्चालन गरिरहेको प्रहरीको दाबी छ ।

पक्राउ परेका व्यक्ति विप्लव समूहको सैन्य लडाकु र सेक्सन कमान्डर रहेको एसपी खड्काले जानकारी दिनुभयो ।
शेर्पाविरुद्ध हातहतियार खरखजना ऐन अन्तर्गत मुद्दा चलाउने तयारी रहेको एसपी खड्काले बताए ।

You might also like