नेपालमा चिनियाँ चासो ः प्रचण्ड र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता

काठमाडौ,८ मंसिर ।
सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा विवाद बढ्दै गएका बेला नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग चिनियाँ राजदूत होउ यान्छीले भेट गरेकी छन् ।

यान्छीले आज बिहान प्रचण्ड निवास खुमलटारमा प्रचण्डसँग भेटघाट भएको हो ।

भेटमा अध्यक्ष प्रचण्ड र यान्छीबीच दुई देश र पार्टीबीचको सम्बन्धका विषयमा कुराकानी भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए ।

नेकपामा देखिएको विवादलगायत अन्य विषयमा भने कुनै कुरा नभएको सापकोटाको दाबी छ ।

यद्यपी पछिल्लो समय नेकपामा विवाद बढ्दै जाँदा राजदूत यान्छीको सक्रियता बढ्दै जाने गरेको छ । नेपालको आन्तरिक मामिलामा खासै चासो नराख्ने चीनले पछिल्लो समय भने नेपालमा चासो बढाउन थालेको छ ।

नेकपामा देखिएको बिवाद उत्कर्षमा पुगेका बेला राजदूत यान्छीले यही मंसिर २ गते साँझ प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई बालुवाटारमा भेट गरेकी थिइन् ।

त्यसपछि फुटको डिलैमा पुगेको नेकपाको विवाद केही साम्य भएको थियो । यसअघि पनि राजदूत यान्छीको सक्रियताले पार्टी फुटबाट जोगिएको थियो ।

कार्यकारी अध्यक्ष प्रचण्डले अर्का अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई विभिन्न आरोप लगाउँदै सचिवालय बैठकमा प्रस्ताव दर्ता गरेपछि प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच दूरी बढेको छ ।

नेकपा भित्रको बिवाद थप उत्सकर्षमा पुगेका बेला भएको अध्यक्ष प्रचण्ड र यान्छीबीचको भेटलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

You might also like