नेपालकी सपना रोका मगर बीबीसीको प्रभावशाली एक सय महिलाको सूचीमा समावेश

काठमाण्डौ,९ मंसिर ।
सामाजिक सेवामा काम गर्दै आएकी नेपालकी सपना रोका मगर विश्वकै प्रभावशाली एक सय महिलाको सूचीमा पर्नु भएको छ ।

काठमाण्डौको पशुपति आर्यघाटमा बेवारिसे शव जलाउँदै आउनु भएकी १८ वर्षकी सपना रोका मगर बीबीसीको प्रभावशाली एक सय महिलाको सूचीमा पर्न सफल हुनु भएको हो ।
पढाइको लागि काठमाण्डौ आउनु भएकी म्याग्दी घर भएकी सपना अरुले बेवारिसे लाश जलाउने गरेको देखेपछि उहाँले पनि यही काम थाल्नु भएको थियो ।

अलपत्र परेका लाशको व्यवस्थापन गर्न पाउँदा आफूलाई सन्तुष्टि मिल्ने उहाँले बताउनु भएको छ । साथीभाइको संगतका कारण आफूले पनि सडकको जिन्दगी भोगेको अनुभव सुनाउँदै उहाँले भन्नुभयो ‘एसएलसीपछि साथीभाइको लहैलहैमा लागेर विश्वासघातमा परेर सडकमा पुगेको थिए । तर अहिले म त्यो ठाउँमा छैन, जुन ठाउँमा म हुन्थ्ये । म अहिले धेरै खुशी छु । यो कामले मलाई आफ्नै परिचय दिएको छ ।’

२०७३ सालमा म्याग्दीमा एसएलसी सकेकी उहाँ त्यसपछि सदरमुकाम बेनीमा आएर कक्षा ११ मा भर्ना हुनु भएको थियो । तर, त्यसपछि साथी संगतमा परेर उहाँ काठमाण्डौ आउनु भएको थियो । अहिले आफूले राम्रो कामको सुरुवात गरे पनि केहीले विगतलाई सम्झाएर आलोचना गर्ने गरेको गुनासो गर्नुभयो ।

बेलायती समाचार संस्था बीबीसीले सन् २०२० का प्रभावशाली एस सय महिलाको सूचीमा नेपालकी सपना रोका मगरलाई समेटेको हो । समाजमा योगदान पुर्याएका, उत्प्रेरक र उदाहरणीय काम गर्ने महिलालाई बीबीसीले यो सूचीमा समावेश गर्ने गरेको छ ।

यो सूचीमा सपनासहित फिनल्याण्डका प्रधानमन्त्री, वैज्ञानिक, लेखक, अनुसन्धानकर्तालगायत समावेश छन् ।

You might also like