बर्दिबासमा गोली चल्यो, ३ प्रदर्शनकारी घाईते

महोत्तरी,९ मंसिर ।
बर्दिबासकी ६ वर्षीया बालिका हत्याको बिरोधमा भएको प्रदर्शनमा प्रहरीले गोली चलाउदा ३ जना घाइते भएका छन् ।

बालिका गुलाब साह खातुनको बालत्कार गरी हत्या गरेको भन्दै स्थानीयले गरेको प्रदर्शनमा प्रहरीले गोली चलाएको हो ।

प्रहरीको गोली लागेर तीनजना प्रदर्शनकारी घाइते भएका छन् । प्रहरीको गोली लागेर बर्दिबासका संजय भनिने बुद्धिराज न्यौपाने, अफताब आलम र श्याम कार्की घाइते भएका छन् ।

न्यौपानेको तिघ्रामा, आलमको टाउकोमा गोली लागेको प्रत्यक्षदर्शीले बताए । न्यौपाानेको थप उपचारका लागि पिनायक हस्पिटलबाट काठमाडौं रेफर गरिएको छ भने अन्य घाइतेको शुभ स्वस्तिक हस्पिटलमा उपचार भैरहेको छ ।

बर्दिबास नगरपालिका १४ शुभम् बस्तीबाट आइतबार बेलुकादेखि हराएकी सहिद आलमकी ६ वर्षीया छोरी गुलाब साह खातुनको सोमबार राति शव बोरामा राखेर फालेको अवस्थामा फेला परेको थियो ।

उनलाई स्थानीय अरुण किराना पसलका संचालक २५ वर्षीय अरुण कुमार साहले बलात्कार गरी हत्या गरेको स्थानीयबासीको आरोप छ । साहले हत्या आफुले गरेको र शव बोरामा राखेर फालेको प्रहरी समक्ष स्वीकार गरिसकेको प्रहरी श्रोतले जनाएको छ ।

बालिका बलात्कार तथा हत्याको बिरोधमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरी बिहानैदेखि बर्दिबासमा प्रदर्शन भइरहेको छ ।

प्रदर्शनको क्रममा आक्रोशित स्थानीयले आरोपी साहको घर समेत जलाएका छन् । आगजनीभएको घरमा आगो निभाउन जान खोज्दा प्रहरीमाथि अवरोध भएपछि गोली चलाएको प्रहरीले जनाएको छ । अहिले बर्दिबासको अवस्था तनावग्रस्त छ ।

You might also like