बालिका हत्या प्रकरण ःनिषेधाज्ञाका बाबजुद बर्दिबासमा प्रदर्शन

महोत्तरी,१० मंसिर ।
प्रशासनले जारी गरेको निषेधाज्ञाका बाबजुद पनि बर्दिबासमा बालिका हत्याको विरोधमा स्थानीयहरुले प्रदर्शन जारी राखेका छन् ।

बालिका बलत्कारपछि हत्या विरुद्धको प्रदर्शनमा प्रहरीको गोली लागेर मंगलबार एकजनाको मृत्यु भएपछि बर्दिबासमा पुनः प्रदर्शन सुरु भएको हो ।

निषेधाज्ञाका बाबजुद पनि स्थानीयले बुधबार बिहानैदेखि पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेर प्रदर्शन गरिरहेका छन् ।

प्रहरीको गोली लागेर मृत्यु भएका बर्दिबास नगरपालिका १ का संजय न्यौपानेलाई शहीद घोषणा गर्नुपर्ने, मृतक परिवारलाई क्षतिपूर्ति दिनुपर्ने, गोली चलाउने दोषी प्रहरीलाई कारबाही गर्नुपर्ने, बलात्कारीलाई कडा कारबाही गर्नुपर्ने लगायतको माग गर्दै स्थानीय प्रदर्शनमा उत्रेका हुन् ।

प्रसाशनले बुधबार बिहान ९ बजे देखि बिहीबार बिहान ६ बजे सम्मको लागि बर्दिबासमा निषेधाज्ञा जारी गरेको छ ।
पूर्वमा रातो खोला, पश्चिममा वडा नं ५ को माइस्थान, उत्तरमा वार्ड नं ३ को पाटु र दक्षिण मा वार्ड नं ८ को क्वार्टर चौक सम्म निषेधाज्ञा लगाइएको छ ।

निषेधाज्ञा अवधि र क्षेत्र मा ५ जना भन्दा बढ़ी भेला जम्मा हुन नपाउने,अनावश्यक भेला हुन पाइने छैन । महोत्तरी का प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले निषेधाज्ञा अवधिमा राजमार्ग भने सुचारु रहने बताउनु भयो ।

बर्दिबास नगरपालिका–१४ शुभम् बस्तीका शहीद आलमकी ६ वर्षीया छोरी गुलाब साह खातुनको बलात्कारपश्चात हत्या भएको विरोधमा मंगलबार दिउँसो प्रदर्शनमा उत्रेका स्थानीयमाथि प्रहरीले अन्धाधुन्ध गोली चलाउँदा सञ्जय न्यौपानेसहित तीनजना घाइते भएका थिए ।

सञ्जयको उपचारको क्रममा काठमाडौंस्थित ग्राण्डी अस्पतालमा उपचारको क्रममा मंगलबार राति मृत्यु भएको थियो ।

You might also like