आजदेखि भारतीय विदेश सचिव हर्षवर्द्धनको नेपाल भ्रमण, सीमा विवादबारे छलफल हुने

काठमाण्डौ,११ मंसिर ।
आजदेखि भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगलाको नेपाल भ्रमण हुदै छ ।

भारतीय विदेश सचिवको नेपाल भ्रमण सामान्य कूटनीतिक भ्रमणको रुपमा मात्रै हेरिँदै आएको भए पनि यस पटकको भ्रमणलाई विशेष चासोका साथ हेरिएको छ ।

दुईदिने नेपाल भ्रमणका क्रममा सीमा विवादलाई मुख्य प्राथमिकतामा राखेर कुरा गरिने भएको छ । नेपालले लिपुलेक, कालापानी र लिम्पियाधुराको भूभाग समेटेर नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेसँगै भारत र नेपालबीचको सीमा विवाद सतहमा आएको छ ।

आज नै सचिवस्तरीय बैठकसमेत हुने भएकोले प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन अनुसार नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुराको भौगोलिक अवस्थिति र प्रमाणिक आधारमा नेपालले सार्वजनिक गरेको नयाँ राजनीतिक नक्साबारे बैठकमा छलफल गर्ने तयारी भएको बताइएको छ ।

परराष्ट्रसचिव भरतराज पौडेलका अनुसार दुई देशीय सीमा मामिलासहित प्रवुद्ध समूह (ईपीजी) को रोकिएको रिपोर्ट, ट्रान्समिसन लाईन, आर्थिक सहयोग एवं व्यापार, उर्जालगायत विषयमा पनि भारतीय विदेश सचिव श्रृंगलासँग कुराकानी हुने छ ।

काठमाण्डौको एक होटलमा द्विदेशीय सचिवस्तरीय संयन्त्र बैठक बसेपछि उहाँले प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।

परराष्टमन्त्री प्रदीप ज्ञवाली र विदेश सचिव श्रृंगलाबीच पनि भेटघाट हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । श्रृंगला नेपालको भ्रमण सकेर भोलि दिउँसो १ बजे भारत फर्कने कार्यक्रम रहेको छ ।

You might also like