उद्योग वाणिज्य महासंघ निर्वाचन ः व्यवसायीको हितमा काम गर्ने दुवै पक्षको दाबी

काठमाण्डौं,११ मंसिर ।
उद्योगी व्यवसायीहरुको छाता संगठन, नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारणसभा आजदेखि सुरु हुँदैछ ।

काठमाण्डौमा तीन दिनसम्म चल्ने वार्षिक साधारणसभाले नयाँ नेतृत्व र भावी अध्यक्षको लागि वरिष्ठ उपाध्यक्ष समेत चयन गर्नेछ ।

वरिष्ठ उपाध्यक्ष नै अर्को कार्यकालको लागि स्वतः अध्यक्ष हुने प्रावधान रहेकोले हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा अध्यक्ष बन्नुहुनेछ ।

अबको वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल र किशोर प्रधान प्यानलसहित प्रतिष्पर्धामा हुनुहुन्छ । दुवै उम्मेद्वारले आफूहरुले देशैभरीका उद्योगी व्यवसायीको हितमा काम गर्ने प्रतिवद्धता जनाउनुभएको छ । सर्वसम्मत नेतृत्व चयनको प्रयास भैरहे पनि सहमतिको सम्भावना भने कम रहेको बताइएको छ ।

दुवै पक्षका उम्मेदवारले आ–आफ्नो जित सुनिश्चित रहेको दाबी गर्दै आएका छन् ।

वरिष्ठ उपाध्यक्षका उम्मेदवार ढकाल र प्रधान दुवैले आफूहरुको जित सुनिश्चित रहेको दावी गरेका हुन् । ढकाल प्यानलमा जिल्ला÷नगर उपाध्यक्षमा गुणनिधी तिवारी, वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ र एशोशियट उपाध्यक्षमा रामचन्द्र सांघाईले उम्मेदवारी दिएका छन् । प्रधान प्यालनमा जिल्ला÷नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ, वस्तुगतमा अञ्जन श्रेष्ठ र एशोशियटमा सौरभ ज्योतिको उम्मेदवारी परेको छ ।

दुवैको चुनावी एजेन्डा महासंघलाई बलियो बनाउने, आत्मनिर्भर हुनेगरी व्यवसाय विस्तारमा सहजीकरण गर्ने र उद्योग व्यवसायीको हितमा देश विदेशमा लबिङ गर्ने रहेको छ ।

चन्द्र ढकालले आफू सानो उद्यमीबाट यात्रा थालेर अहिले देशकै एक अब्बल उद्यमीको रुपमा चिनिएकाले सबैलाई मिलाएर लैजान सक्ने र व्यवसायीका पीरमर्का बुझ्ने बताउँदै आउनुभएको छ ।

बरिष्ठ उपाध्यक्षका अर्का उम्मेद्वार किशोर प्रधानले पनि आफू जिल्ला नगरबाट चुनाव जित्दै, व्यापार व्यवसायको साथमा उद्योगी व्यापारीका समस्या समाधानमा लागेको बताउनुभएको छ । २८ वर्षदेखि यही क्षेत्रमा भिजेकाले आफू नै वरिष्ठ उपाध्यक्ष हुनुपर्ने प्रधानको भनाई छ
यसैबीच वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकाल समूहले आफ्नो कार्यकालमा गर्ने काम समावेश गरेर ‘एफएनसीसीआई भिजन २०२५’ को मस्यौदा सार्वजनिक गरेको छ ।

ढकाल समूहले आफ्ना एजेण्डालाई समेटेर २५ बुँदामा भिजन सार्वजनिक गरेको हो । आफू वरिष्ठ उपाध्यक्ष भएपछि र त्यसपछिको अध्यक्षको कार्यकाललाई समेत समेटेर महासंघमा गर्नुपर्ने सुधारका साथै नेपालको उद्योग व्यवसाय क्षेत्रका व्यावसायिक हकहितका विषयलाई समावेश गरिएको छ ।

You might also like