त्रिशूली पिकअप भ्यान दुर्घटना ः दुई जनाको शव फेला, एक जना अझै बेपत्ता

चितवन, ११ मंसिर ।
पिकअप भ्यान त्रिशूली नदीमा खस्दा बेपत्ता भएका तीन जनामध्ये दुई जनाको शव फेला परेको छ ।

प्युठानको झिमरुक गाउँपालिका वडा नम्बर १ घर भएकी ३३ वर्षीया जमुना रोक्का र पिकअप भ्यान चालक २३ वर्षीय सूर्य केसीको शव फेला परेको हो ।

पिकअप भ्यानभित्रै उनीहरुको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
१५ वर्षीया जिनिसा रोक्काको खोजी जारी रहेको छ ।

बिरामी जिनिसाको उपचारका लागि काठमाडौं जाँदै गर्दा चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ४ स्थित नाग्दी खोला नजिकबाट लु १ च ९७३१ नम्बरको पिकअप भ्यान बिहीबार बिहान साढे पाँच बजे त्रिशुलीमा नदीमा खसेको थियो ।

पिकअप भ्यानमा रहेका ३८ वर्षीय मुकुन्द बहादुर रोक्का भने पौडिएर बाहिर निस्किन सफल भएका छन् । पौडिएर बाहिर निस्किन सफल भए पनि उनी घाइते छन् । उनको चितवनको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) मा उपचार भइरहेको छ ।

मुकुन्द राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल युवक संघका केन्द्रीय उपाध्यक्ष हुन् । उनी खतरामुक्त छन् । बेपत्ता भएकी जिनिसा मुकुन्दकी छोरी हुन भने मृत फेला परेकी जमुना श्रीमती हुन् ।

You might also like