भारतीय विदेश सचिव श्रृंगला काठमाडौं आइपुगे

काठमाडौं,११ मंसिर ।
भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगला काठमाडौं आइपुगेका छन् ।

श्रृंगला आज विहान १० बजेर ४० मिनेटमा काठमाडौं आइपुगेको परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालले जानकारी दिनुभयो । उहाँको नेपाल आगमन दुई देशबीच उच्चस्तरमा भइरहेको भ्रमण आदान प्रदानकै निरन्तरता भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार नेपाल र भारतबीच आजै परराष्ट्र सचिवस्तरमा वार्ता हुनेछ । नेपाल–भारत दुवैले नयाँ नक्सा जारी गरेपछि उत्पन्न विवादबीच रोकिएको कूटनीतिक वार्ता पुनः सुरु गर्न लागिएको हो ।

वार्तामा सीमा विवादका बिषयमा कुराकानी हुने अपेक्षा गरिएको छ । श्रृंगलाले आजै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।

यस्तै, नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायत नेतासँग पनि विदेश सचिव श्रृंगलाले शिष्टाचार भेट गर्ने जनाइएको छ ।

विदेश सचिव श्रृंगलाको यो पहिलो नेपाल भ्रमण हो । उहाँले आजै भारत सरकारका तर्फबाट नेपाललाई कोभिड १९ संग सम्बन्धित स्वास्थ्य सामाग्री हस्तान्तरण गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । श्रृंगला भोलि दिउसो स्वदेश फर्किने कार्यक्रम छ ।

You might also like