अर्थमन्त्री पौडेलद्धारा तिलोत्तमामा अस्पताल, झुम्सामा खानेपानी शिलन्यास र बुटवलमा विद्युतीय भुक्तानीको शुभारम्भ

बुटवल, ११ मंसिर ।
अर्थमन्त्री विष्णु पौडेलद्धारा बिहीबार तिलोत्तमामा अस्पताल र पाल्पाको झुम्सामा खानेपानी आयोजनाको शिलन्यास गर्नुभएको छ भने बुटवलमा विद्युतीय भुक्तानी (ई–पेमेन्ट) प्रणालीको शुभारम्भ गर्नुभएको छ ।

पौडेलले रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ६ गोरकट्टामा निर्माण हुने १५ शैंयाको सरकारी अस्पतालको आज एक कार्यक्रमकाबीच अर्थमन्त्री पौडेलले शिलन्यास गर्नुभयो ।

हरेक पालिकामा कम्तिमा एउटा १५ शैंयाको सरकारी अस्पताल निर्माण गर्ने संघीय सरकारको नीतिअनुसार बन्न थालेको आनन्दवन अस्पतालको अर्थमन्त्री विष्णु पौडेलले शिलन्यास गर्नुभएको हो ।

२०४० सालमा स्थापना भएको आनन्दवन स्वास्थ्य चौकीलाई स्तरोन्ती गरी अस्पताल बनाउन थालिएको हो ।
अस्पताल पूर्णनिर्माण भई सञ्चालनमा ल्याउन १७ करोड लागत अनुमान गरिएको छ । १४ कठ्ठा क्षेत्रफलमा फैलिने अस्पताल स्थापनाको लागि स्व. गोपाल ओझान्ठाक्ष, अमृत प्रसाद ओझान्ठाक्ष र शम्भु प्रसाद ओझान्ठाक्षले जग्गा उपलब्ध गराउनु भएको हो । २०४० सालमा उहाँहरुले दश कठ्ठा जग्गा उपलब्ध गराएर स्थापना भएको स्वास्थ्य चौकी अहिले उहाँका छोराहरुले थप ४ कठ्ठा जग्गा उपलब्ध गराएसँगै अस्पतालमा स्तरोन्नती सहज भएको हो ।

हाल बर्थिङ सेन्टर र प्रयोगशालासहित सेवा प्रदान गरेको स्वास्थ्य चौकी अस्पतालमा स्तरोन्नती भएसँगै प्राथमिक अस्पताल समूह ‘ख’ अनुसारको सेवा उपलब्ध गराउने छ । शिलन्यास कार्यक्रममा अर्थमन्त्री विष्णु पौडेलले निर्माण कार्यमा बजेट अभाव हुन नदिने स्पष्ट पार्नुभयो । “बजेटको सुनिश्चितता म गराउँछु । तपाईंहरुले गुणस्तरीय निर्माणमा ध्यान दिनुहोस् ।” अर्थमन्त्री पौडेलले भन्नुभयो ।

कार्यक्रममा प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले रुपन्देहीले विकासमा ठूलो फड्को मारेको बताउँदै तिनैं तहका सरकारको समन्वयमा काम हुँदा जनताले परिवर्तनको अनुभूति गर्न सक्ने अवस्था आएको उल्लेख गर्नुभयो ।

तिलोत्तमा नगर प्रमुख बासुदेव घिमिरेले अर्थमन्त्री पौडेलले यसअघि जनाउनु भएको प्रतिबद्धताअनुसार अस्पताल निर्माणको क्रम अघि बढेकोमा खुशी व्यक्त गर्दै अस्पताल सञ्चालनमा आउँदा तिलोत्तमाको स्वास्थ्य क्षेत्रमा नयाँ आयाम थपिने बताउनुभयो ।

उपप्रमुख जगेश्वरदेवी चौधरीले अस्पताल निर्माणले विपन्न वर्गको गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच पुग्ने बताउँदै सेमराबजार स्वास्थ्य चौकीलाई १५ शैंयाको अस्पतालमा स्तरोन्नती गराउन अर्थमन्त्री पौडेलसँग आग्रह गर्नुभयो ।

कार्यक्रममा जग्गादाता मध्येका जीवन प्रसाद ओझाले अस्पताल निर्माणले राष्ट्रिय स्तरमा चर्चा पाएको तिलोत्तमाको प्रतिष्ठालाई अझैं उचाईंमा पुर्याउने विश्वास व्यक्त गर्दै स्वास्थ्य चौकी अस्पतालमा स्तरोन्नती हुँदा ओझा परिवार गौरवान्वित भएको बताउनुभयो । त्यसक्रममा जग्गा उपलब्ध गराउने जीवन प्रसाद ओझा, कल्याण प्रसाद ओझा र नारायण प्रसाद ओझालाई सम्मान गरिएको थियो ।

वडाध्यक्ष तथा स्वास्थ्य चौकी व्यवस्थापन समिति अध्यक्ष सुखदेव न्यौपानेको अध्यक्षता तथा स्वास्थ्य चौकी ईञ्चार्ज ज्ञान प्रसाद पौडेलको सञ्चालनमा कार्यक्रम भएको हो ।

अर्थमन्त्री पौडेलले आजै बुटवलमा विद्युतीय भुक्तानी (ई–पेमेन्ट) प्रणालीको शुभारम्भ गर्नुभएको छ ।
सेवा शुभारम्भ भएसँगै बुटवल उपमहानगरपालिकामा राजश्व बुझाउनका लागि लाइन लाग्नुपर्ने पद्धतिको अन्त्य हुने भएको छ ।

उपमहानगरपालिकाले यसअन्तर्गतका १९ वटै वडामार्फत् अनलाईन प्रणालीबाट रावश्व संकलन गर्ने व्यवस्था मिलाएको हो ।

करदाताले नगरपालिकाले संकलन गर्दै आएको एकिकृत सम्पति कर, घर बहाल कर, अन्य व्यवसाय कर, सरसफाई सेवा शुल्क, अचल सम्पति मुल्यांकन शुल्क, नक्सा पास दस्तुर, ठेक्का पट्टा नविकरणलगायतका राजश्वलाई जुनसुकै ठाउँबाट पनि अनलाईनबाटै तिर्न सक्ने व्यवस्था मिलाएको छ ।

दोस्रो पटक अर्थमन्त्रीको जिम्मेवारी सम्हालेपछि मंगलबार पहिलो पटक गृह जिल्ला रुपन्देही आएका पौडेलले बुधबारदेखि जिल्लामा सञ्चालित बिभिन्न आयोजनाको निरिक्षण,शिलन्यास र उद्घाटनमा व्यस्त रहनुभएको हो ।

त्यसैगरी अर्थमन्त्री पौडेलले आजै पाल्पाको दोभान गाउँपालिकास्थित झुम्सा खोलाबाट बुटवल उपमहानगरपालिकामा ल्याइने स्वच्छ खानेपानीको लागि निर्माण हुने बुटवल खानेपानी आयोजनाको ड्याम निर्माण कार्यको शिलन्यास गर्नुभएको छ ।
यसअघि निर्माण भएर बाढीले भत्काएको ड्यामको पौडेलले आज पुन ः शिलन्यास गर्नुभएको हो ।

बुटवल उपमहानगरका लागि महत्वाकांक्षी योजनाका रुपमा रहेको झुम्सा खोला खानेपानी आयोजना विवादका बीच शिलान्यास भएको छ । पाल्पाको तिनाउ–४ झुम्सामा पर्ने मुहानबाट बुटवलमा खानेपानी ल्याउनका लागि विहिबार शिलान्यास गरिएकोमा मुहान प्रभावित क्षेत्रका जनताले असहमती जनाएका थिए ।

तिनाउ गाउँपालिकाले स्थानीय जनप्रतिनिधि तथा प्रभावित क्षेत्रका जनतालाईसमेत जानकारी नदिई आयोजनाका लागि मुहानबाट पानी लैजान स्वीकृत दिएपछि विवादित बनेको हो । आयोजना शिल्यान्स हुनुभन्दा अघिल्लो रात गाउँपालिका अध्यक्ष ओमबहादुर घर्ति र प्रमुख प्रशासकीय अधिकृत सुन्दरप्रसाद श्रेष्ठले गोप्य रुपमा मुहान प्रयोग गर्न स्वीकृती दिएको स्थानीयको आरोप छ ।

झुम्सा खोलाबाट प्रतिदिन ३ करोड १० लाख लिटर पानी ल्याएर बुटवलमा प्रशोधन गर्ने र त्यहीँबाटै वितरण गर्ने योजना रहेको संस्थानको बुटवल खानेपानी संस्थानले जनाएको छ ।

आयोजनाको ड्याम निर्माण तथा पाइप लाइन विस्तारका लागि दुई वटा टेन्डर भई काम सुरु भएको हो । बुटवल उपमहानगरका सबै वडाहरुमा २४ सै घण्टा खानेपानी उपलब्ध गराउने उद्देश्यले यो आयोजनाको डिजाइन तयार गरिएको छ ।

करिब ३ लाख जनसंख्या यस आयोजनाबाट प्रत्यक्ष लाभान्वित हुने संस्थानले जनाएको छ । संस्थानको बुटवल खानेपानी शुद्धीकरण आयोजना पहिलो ठूलो आयोजना हो भने दोस्रोमा पोखराको मर्दी खोला खानेपानी आयोजना रहेको छ ।

सो आयोजनाको कूल लागत रु ६ अर्ब ३५ करोड ३५ लाख छ ।

You might also like