चितवनमा थप दुई जना कोरोना संक्रमितको मृत्यु

चितवन,१२ मंसिर ।
चितवन स्थित भरतपुर अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको शुक्रबार बिहान मृत्यु भएको छ ।

मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१७ बस्ने ७७ वर्षीय पुरुष र मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१० बस्ने ५७ वर्षीया महिला रहेका छन् ।

भरतपुर–१७ का वृद्ध यही मंसिर ५ गते कोभिड संक्रमणसहित ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएर अस्पताल भर्ना भएका थिए । मंसिर ३ गते कोरोना संक्रमण पुष्टि भएका उनलाई ६ मंसिरमा कोभिड आइसियूमा राखेर उपचार गरिएको थियो ।

हेटौंडा–१० की ५७ वर्षीया महिलालाई भने यही मंसिर ११ गते कोभिड संक्रमणसहित ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएर भरतपुर अस्पतालमा ल्याइएको थियो ।

मंसिर ८ गते कोरोना संक्रमण पुष्टि भएकी ती महिलालाई बिहीबार नै कोभिड आइसियुमा राखेर उपचार गरिएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिनुभयो ।

You might also like