रुपन्देहीको सैनामैनामा स्मार्ट रिफ्रेस सेण्टर बन्दै
बुटवल,१२ मंसिर ।
रुपन्देहीको सैनामैनामा स्मार्ट रिफ्रेस सेण्टर स्थापना हुने भएको छ ।
राजमार्गमा हुने सवारी दुर्घटना न्युनिकरण र राजमार्गको सरसफाईलाई ध्यानमा राखेर लुम्बिनी प्रदेश सरकारको लगानीमा स्मार्ट रिफ्रेस सेण्टर स्थापना हुन लागेको हो ।
राजमार्गमा अब्यवस्थित पार्किङ गरेर फोहर गर्ने कार्यलाई निरुत्साहित गर्न र लामोदुरिको चालकहरुलाई केहिबेर आराम गर्ने ब्यवस्था गरि सवारी दुर्घटना न्युनिकरण गर्न प्रदेश सरकारले रिफ्रेस सेण्टरको स्थापनाको अवधारणा ल्याएको प्रदेश सरकारको भौतिक पुर्वाधार मन्त्रालयले जनाएको छ ।
नेपालकै पहिलो दाबी गरिएको रिफ्रेस सेण्टरको आज एक कार्यक्रमकाबीच लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले शिलान्यास गर्नुभएको हो ।
सेन्टरको शिलन्यास गर्दै मुख्यमन्त्री पोखरेलले रिफ्रेस सेण्टरले बहुउपयोगी काम गर्ने बिश्वास ब्यक्त गर्नुभयो ।
वर्तमान सरकार समृद्ध नेपाल सुखी नेपालीको अभियानमा अगाडि बढेको भन्दै मुख्यमन्त्री पोखरेलले मुलुकमा राजनीतिक अस्थिरताको आशंका नगर्न आग्रह गर्नुभयो ।
नेपालका शिर्ष नेताहरुमा क्रान्ति गर्ने तर उपलब्धीको ब्यवस्थापन गर्न नसक्ने कमजोरी रहेको उल्लेख गर्दै उहाँले नेतृत्वले विवेक गुमाउदा बेला बेलामा नेपालमा राजनीतिक समस्या आउने गरेको बताउनुभयो ।
कार्यक्रममा प्रदेश सरकारका भौतिक पुर्वाधार विकास मन्त्री बैजनाथ चौधरी,सैनामैना नगरपालिकाका नगर प्रमुख चित्रबहादुर कार्कीले रिफ्रेस सेन्टरको आवस्यकता र औचित्यका बारेमा आ आफ्नो भनाई राख्नुभएको थियो ।
दुई चरणमा सम्मपन्ने गर्ने गरि तयार गरिएको आयोजनाको पहिलो चरणको लागत अनुमान ४ करोड ८२ लाख रहेको छ ।
रिफ्रेस सेण्टरमा सवारी पार्कीङ, चार्जिङ सेण्टर, अत्याधुनिक शौचालय, चालक बिश्रामगृह, यात्रु प्रतिक्षालय, चमेना गृह लगायतका सुबिधा रहने जनाइएको छ ।