रुकुम पश्चिममा जन्ती बोकेको जिप दुर्घटना, चार जनाको मृत्यु

रुकुम पश्चिम,१३ मंसिर ।
रुकुम पश्चिममा जन्ती बोकेको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने एक जना घाइते छन् ।

आठबीसकोट नगरपालिका–७ को पोखरामा जन्ती बोकेको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

आठबीसकोट २० घारीखोलाबाट जन्ती लिएर आठबीसकोट ८ दाँजेतर्फ जाँदै गरेको रा १ ज ५८९ नम्बरको जिप शुक्रबार राति साढे ८ बजे आठबीसकोट नगरपालिका–७ को पोखरामा दुर्घटना हुँदा चारै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा आठबीसकोट–८ का अन्दाजी ५१ वर्षीय गोरे नेपाली, ६६ वर्षीय सार्के नेपाली, ४८ वर्षीय आइते चदारा र सोही नगरपालिका–७ का ५१ वर्षीय कलिभान नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख, प्रहरी नायब उपरिक्षक ठगबहादुर केसीले जानकारी दिनुभयो । दुर्घटनामा ६० वर्षीय लालबहादुर नेपाली सख्त घाइते भएको प्रनाउ केसीले बताउनुभयो ।

जिप रोकेर यात्रु ओरालिरहेको अवस्थामा एक्कासी पछि गुडेर दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् । अघिल्लो सिटमा बसेकालाई ओरालेर पछाडीका यात्रु झार्ने क्रममा जिप पछि गुडेको बताइएको छ । पछाडि बसेकाहरु झर्नै नपाई दुर्घटनामा परेका हुन् । जिप एक सय मिटर तल पुगेको खसेको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । जिप चालक भने फरार रहेका छन् ।

You might also like