देशभर चिसो बढ्यो ः एकैदिन तीन डिग्री सेल्सियस तापक्रम घट्यो

काठमाण्डौ,१३ मंसिर ।
देशभर चिसो बढीरहेको छ । एकैदिन तीन डिग्री सेल्सियस तापक्रम घटेको छ ।

काठमाण्डौमा हिजोको न्यूनतम तापक्रम आठ डिग्री सेल्सियस रहेकोमा आज बिहानको तापक्रम पाँच डिग्री सेल्सियसमा झरेको हो । तापक्रम अझै घट्दै जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हिजोअस्ति राति बादल लाग्ने गरेकाले न्यूनतम तापक्रम त्यति धेरै घटेको थिएन । तर आज राति बादल नलागेकाले चिसो बढेको महाशाखाका मौसमविद् वरुण पौडेलले बताउनुभयो । हिजो जुम्लाको न्यूनतम तापक्रम माइनस पाँच डिग्री सेल्सियसमा झरेको थियो ।

जोमसोमको २ दशमलव २, जिरीको ४ दशमलव ५, ओखलढुङ्गाको ९ दशमलव ५, ताप्लेजुङको ८ दशमलव ५, दिपायलको ६ दशमलव २ र पोखराको १० दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको थियो । अबको तीन दिन देशभरको मौसम सामान्यतया सफा नै रहने महाशाखाले जनाएको छ ।

पश्चिमी वायुको प्रभाव हटेर गएकाले अबको तीन दिन देशभर पानी पर्ने वा हिमपात हुने सम्भावना नभएको मौसमविद् पौडेलले जानकारी दिनुभयो ।

You might also like