आज नेकपा सचिवालय बैठक बस्दै, ओलीले प्रचण्डका प्रश्नको जवाफ दिने

काठमाण्डौ,१३ मंसिर ।
सत्तारुढ दल नेकपाको सचिवालय बैठक आज बस्दैछ ।

दिउँसो १ बजे बालुवाटारमा बस्ने बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रस्ताव पेस गर्ने तयारी छ । पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रस्तुत गर्नुभएको प्रस्ताव र आरोपपत्र अस्वीकार गरी प्रधानमन्त्री ओलीले आफ्नो प्रस्ताव पेश गर्न लाग्नुभएको हो । आधारभूतरुपमा प्रधानमन्त्री ओलीको जवाफ तयार भएको र त्यसले उहाँमाथि लगाएका आरोपबारे स्पष्ट गर्ने प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बताउनुभयो ।

ओलीले प्रचण्डका राजनीतिक र व्यक्तिगत दुवै प्रश्नको उत्तर दिने तयारी गर्नुभएको छ । पार्टीभित्र आरोपप्रत्यारोप बढ्दै गर्दा प्रधानमन्त्रीको जवाफी प्रतिवेदन र सचिवालय बैठकलाई महत्वका साथ हेरिएको छ । आजको बैठकमा ओलीको प्रस्ताव पेस भएपछि त्यसमाथि अध्ययनका लागि एक–दुई दिनको समय लिने र अर्को बैठकमा दुवै अध्यक्षका प्रस्तावमाथि छलफल गर्ने तयारी छ ।

नेताहरुकाअनुसार यससबीचमा संयुक्त प्रस्तावको लागि सहमति जुटाउने प्रयास हुनेछ । सहमति भएन भने दुवै प्रस्ताव स्थायी कमिटीमा प्रवेश गराउने प्रचण्ड–नेपाल समूहको तयारी छ । यसअघि बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले आफूमाथिका आरोप बदर हुनुपर्ने या त्यो सही नठहरिएमा आरोप लगाउनेले त्यसको जिम्मेवारी र जवाफदेहिता लिनुपर्ने तर्क गर्नुभएको थियो ।

अघिल्लो सचिवालय बैठकले स्थायी कमिटीको बैठक यही मङ्सिर १८ र केन्द्रीय कमिटीको बैठक मङ्सिर २५ गते बोलाउने निर्णय गरेकाले शीर्ष तहको विवाद सचिवालयमा मिल्न नसकेमा ती निकायका बैठकमा प्रवेश हुनेछन् । गएको भदौ २६ गतेको स्थायी कमिटीको बैठकले सहमतिका साथ शीर्ष नेताहरुको कार्यविभाजन गरी सरकार र पार्टीको कामलाई व्यवस्थित र प्रभावकारी बनाउने तथा आउँदो चैतको अन्तिम हप्ता पार्टीको एकता महाधिवेशन आयोजना तय गर्ने निर्णय गरेको थियो ।

पछिल्ला समय मन्त्रिपरिषद्मा हेरफेर, राजदूत नियुक्ति, पार्टीको कर्णाली प्रदेशको विवाद, तराईका केही जिल्लाका कार्यकर्ताबीचको दोहोरो झडप, प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दूत भएर नेपाल आएका भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्तकुमार गोयलसँग गरेको भेटवार्ता आदिबारे विवाद उत्पन्न हुँदै आएको छ ।

गएको स्थायी कमिटीको बैठकमा अध्यक्ष ओली र अध्यक्ष दाहालबीचको सहमतिका आधारमा गठित समस्या समाधान समितिको प्रतिवेदन परिमार्जनसहित प्रस्तुत र पारित भएको थियो ।
स्थायी कमिटीले अध्यक्ष ओली सरकारको काममा केन्द्रीत हुने र अध्यक्ष दाहाल पार्टीको काममा केन्द्रीत भएर कार्यकारी अध्यक्षको भूमिकामा रहने कार्यविभाजनको प्रस्ताव पारित गरेको थियो । त्यही बैठकले आउँदो चैत २५ देखि ३० गतेसम्म महाधिवेशन हुने तय गरेको थियो ।

You might also like