‘विश्वशान्तिका लागि बौद्ध दर्शनको विश्वव्यापीकरण र अनुसन्धान महत्वपूर्ण’

बौद्ध विश्वविद्यालयको स्थापना दिवस

बुटवल,१५ मंसिर ।
लुम्बिनी बौद्ध विश्वविद्यालयले १६ औं स्थापना दिवस लुम्बिनीमा मनाएको छ । ०६१ सालमा स्थापना भएको विश्वविद्यालयले आइतबार एक कार्यक्रमकाबीच लुम्बिनीमा स्थापना दिवस मनाएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका प्रमुख धर्मनाथ यादवले विश्व शान्तिका लागि बौद्ध दर्शन, साहित्य महत्वपूर्ण रहेको र यसलाई जनमानसमा फैलाउने काम विश्वविद्यालयले गरेको बताउनुभयो ।

बुद्धका शिक्षा पालनाबाटै सबैको हीत र मुलुकको समृद्धि हुने बताउदै उहाँले शान्ति बिना मानव जीवनको कल्पना गर्न नसकिने बताउनुभयो ।
उहाँले बौद्ध विश्वविद्यालयले बौद्ध दर्शनको प्रचार, पठनपाठन र अनुसन्धानबाट विश्वशान्तिको सन्देश फैलाउदै विद्यार्थीको उन्नत भविष्य निर्धारण गर्नेुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेशसभाका प्रमुख सचेतक फखरुद्धिन खानले विश्वविद्यालयले आध्यात्मिक गतिबिधि निर्माणमा पहलकदमी गर्नुपर्ने बताउनुभयो ।
यसलाई समुदायसंग जोडेर लैजान आवश्यक रहेको भन्दै उहाँले हरेक विद्यार्थीलाई बौद्ध दर्शन पढाउने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले स्वदेशमै बौद्ध दर्शन पढ्न सक्ने सुनिश्चितता स्थापना गर्न आग्रह गर्नुभयो ।

सो अवसरमा बोल्दै लुम्बिनी विकास कोषका उपाध्यक्ष अवदेश कुमार त्रिपाठी (भिक्षु मैत्तेय)ले बौद्ध दर्शनको विकासका लागि विश्वविद्यालयले योगदान गरिरहेको भन्दै यसको उन्नतीका लागि विकास कोष सहकार्य गर्न तयार रहेको बताउनुभयो ।
पुरातात्विक क्षेत्रको अध्ययन र विकास तथा विस्तारका लागि यस शिक्षालाई अझै विस्तार गर्नुपर्ने बताउदै उहाँले यसलाई अन्र्तराष्ट्रिय स्वरुपमा लैजानका लागि विकास कोषले सहयोग गर्न सक्ने उल्लेख गर्नुभयो ।

अव पूर्वाधार नभएर यसका कार्यक्रमका रुपरेखा आवश्यक रहेको भन्दै उहाँले यो विश्वविद्यालय अन्यभन्दा निकै फरक रहेकोले यसलाई विशिष्टकृत बनाएर लैजानुपर्ने आवस्यकता औल्याउनुभयो ।
विश्वविद्यालयका पूर्व उपकुलपति प्रा. डा. त्रिरत्न मानन्धरले विश्वविद्यालयलाई ठूलो मेहनतबाट यहाँसम्म पुराउन सकिएको भन्दै यसलाई विश्वकै नमुनाका रुपमा स्थापित गर्नुपर्नेमा जोड दिनुभयो ।

विश्वविद्यालयलाई बहुआयामिक बनाउनका लागि सभाले महत्वपूर्ण निर्णय गरेको भन्दै उहाँले त्यसलाई कार्यान्वयनमा लैजानुपर्ने आवस्यकता औल्याउनुभयो ।
प्रसिद्ध प्राज्ञिक थलोको रुपमा बौद्ध विश्वविद्यालय स्थापना हुनुपर्ने उहाँको भनाई थियो ।
पूर्व उपकुलपति प्रा.डा. नरेशमान बज्राचार्यले बौद्ध अध्ययन र अनुसन्धानलाई केन्द्रमा राखेर यसको गुरुयोजना निर्माण गरिएको बताउनुभयो । हरेक नेपालीलाई बौद्ध धर्म दर्शनको विषयमा केही भए पनि जानकारी होस् भन्ने हेतुले अन्य विषयलाई समेत जोड्नु परेको उहाँले बताउनुभयो ।

उहाँले डिग्री पढ्न नसक्नेलाई पनि ‘ननएकेडेमिक’ कार्यक्रम सञ्चालन गरेर जनतालाई बौद्ध दर्शनको आधारभूत ज्ञान बाड्नुपर्नेमा जोड दिनुभयो ।

विश्वविद्यालयका उपकुलपति प्रा.डा. हृदयरत्न बज्राचार्यले विश्वविद्यालयको मुल मर्म बौद्ध दर्शनको अध्ययन र अनुसन्धान नै रहेको भन्दै अहिलेको पुस्ताका लागि आवश्यक पर्ने विषयहरु समेत चलाएर लगिने जानकारी गराउनुभयो । नयाँ विषय अध्ययनले नया पुस्ताको आकर्षण विश्वविद्यालयप्रति रहेको भन्दै यसले समुदायलाई समेत जोडेको उहाँले बताउनुभयो ।
उहाँले प्रतिष्ठित विश्वविद्यालय बनाउनका लागि अनुसन्धान, जनशक्ति उत्पादन गर्दै अन्र्तराष्ट्रिय संस्थासंग मिलेर लगिने बताए । भौतिक पूर्वाधार निर्माण, शैक्षिक कार्यक्रम सञ्चालनका लागि धेरै विद्धानहरुसंग समन्वय भइरहेको उल्लेख गर्नुभयो ।

विश्वविद्यालयका रजिष्टार डा. तिलक आचार्यले १६ वर्षको अवधिमा विश्वविद्यालय यो अवस्थामा पुगेको बताउनुभयो । निकै कठिनपूर्ण रुपमा लुम्बिनीमा यात्रा शुरु भएको भन्दै उहाँले विश्वविद्यालयलाई स्थानीय समुदायसंग जोड्ने काम भइरहेको जानकारी दिनुभयो ।
बौद्ध धर्मलाई घरघरमा पुराउने अभियानमा विश्वविद्यालय लागिरहेको बताउदै उहाँले विश्वविद्यालयले बौद्ध दर्शन छाडेर अन्यत्र जान नसक्ने दाबी गर्नुभयो । तर विश्वविद्यालय चलाउनका लागि बहुविषयमा जानुपर्ने बाध्यता रहेको उहाँको भनाई थियो ।
‘बौद्ध धर्म दर्शनसहित अरु विषय पनि पढाउनेगरी ऐन सांसोधन भएको छ, अव सरकारको अंगका रुपमा पनि आएका छौं, उहाँले भन्नुभयो । विश्वविद्यालयले अनुसन्धानबाट सरकारलाई सहयोग गर्ने बताउनुभयो । पर्यटन क्षेत्रमा यसले महत्वपूर्ण योगादन पुराउने भन्दै उहाँले त्यसका लागि बौद्ध दर्शनको अध्ययन अनुसन्धानमा जोड दिनुपर्ने उल्लेख गर्नुभयो ।

विश्वविद्यालय लुम्बिनीमै मात्रै राख्नुपर्छ भन्ने जोड भइरहे पनि विश्वविद्यालयको सेवा विस्तारका लागि केही विषय अन्यत्र पनि लैजान जरुरी हुने उहाँको भनाई थियो ।
पाच जना विद्यार्थी र शिक्षक नहुने विश्वविद्यालयमा अहिले सयौं विद्यार्थी र शिक्षकहरु आएको भन्दै यसलाई अझै फैलाउन सबैको सहयोग आवश्यक हुने बताउनुभयो ।
विश्वविद्यालयका डीन डा. माणिकरत्न शाक्यले विश्वविद्यालयका शैक्षिक गतिबिधिका बारेमा जानकारी गराउनु भएको थियो । शैक्षिक गुरुयोजना अनुरुप विश्वविद्यालयले काम गरिरहेको उहाँले बताउनुभयो ।

सो अवसरमा विश्वविद्यालयका विभिन्न संकायमा उत्कृष्ठ विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको थियो । त्यस्तै विद्यार्थी कल्याणकारी परिषद्ले प्रकाशन गरेको ‘कल्याणमित्र’ नामक पुस्तकको विमोचन समेत गरिएको थियो ।

सो अवसरमा बोल्दै स्मारिकाका सम्पादक एवं परिषद्का सहसचिव नरेश केसीले पठनपाठनका लागि सहयोग हुने गरी स्मारिका प्रकाशन गरिएको बताउनुभयो ।
विश्वविद्यालयको केन्द्रीय क्याम्पसका प्रमुख फणिन्द्र कुमार न्यौपानेले कार्यक्रमको सहजिकरण गर्नुभएको थियो ।

You might also like