आज ३३ औँ विश्व एड्स दिवस ः एचआईभीको समयमा नै उपचार भए एड्स हुन पाउँदैन
काठमाण्डौ,१६ मंसिर ।
आज ३३ औँ विश्व एड्स दिवस, बिभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदै छ ।
एचआईभी नियन्त्रण तथा रोकथामका लागि विश्वव्यापी ऐक्यवद्धता तथा साझा जिम्मेवारी भन्ने नारासहित आज विविध कार्यक्रम हुँदैछ ।
कोरोना भाइरसको महामारीका कारण एचआईभी सङ्क्रमित र एचआईभी सर्न सक्ने जोखिममा रहेका समूहलाई स्वास्थ्य सेवा पहुँचमा चुनौती बढेको छ । सुरुवा रोग विशेषज्ञ डाक्टर अनुप बाँस्तोलाका अनुसार एचआईभी एक प्रकारको भाइरस हो ।
एचआईभी सङ्क्रमित व्यक्ति एड्सको अवस्थामा पुग्नका लागि दशौँ वर्ष लाग्छ । समयमै पहिचान भएर उपचार भएमा एड्सको अवस्था आउँदैन । एड्स भएपछि शरीरको रोगसँग लड्ने क्षमता ह्रास भएर क्यान्सर जस्ता अवसरवादी रोग लाग्ने उहाँले बताउनुभयो ।
रगतको परीक्षण गरेपछि एचआईभी भए नभएकोबारे थाहा हुन्छ । विशेष गरेर असुरक्षित शारीरिक सम्पर्क गर्ने व्यक्ति, सुईमार्फत ड्रग्स लिने व्यक्तिले एचआईभीको जाँच समयमै गराउनु पर्ने डाक्टर अनुप बाँस्तोलाको भनाइ छ ।
एचआईभी सार्ने मुख्य कारणमध्ये नेपालमा ७६ प्रतिशत असुरक्षित शारीरिक सम्पर्कबाट नै सर्ने गरेको अनुसन्धानले देखाएको छ । त्यसैगरी, ड्रग्समा फसेका मानिसले सुई आदान–प्रदान गरेको अवस्थामा र सङ्क्रमित आमाबाट जन्मिएका २५ प्रतिशत बच्चामा एचआईभी सङ्क्रमण हुने सम्भावना हुन्छ ।
कहिलेकाहीँ गुणस्तरहीन किटबाट रगत परीक्षण गर्दा पनि एचआईभी हुने सम्भावना हुने डाक्टरले बताएका छन् । सरकारले एचआईभी सङ्क्रमितलगायत उनीहरुको परिवारका सदस्यलाई निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम लागूू गरेको छ ।
सरकारले सन् २०१० देखि २०१९ सम्म एड्सका कारण हुने मृत्युदर ८५ प्रतिशतले घटाएको दाबी गरेको छ । यस्तै, स्वास्थ्य मन्त्रालयका अनुसार नयाँ सङ्क्रमण हुने दर ६४ प्रतिशतले घटेको छ । दिगो विकास अन्तर्गत सन् २०३० सम्ममा एड्सको महामारी अन्त्य गर्ने प्रतिवद्धताका साथ योजना बनाएर काम गरिरहेको स्वास्थ्यमन्त्री भानुभक्त ढकालको दाबी छ ।
एचआईभी र एड्ससम्बन्धी प्रभावकारी रोकथाम, हेरचाह, सहयोग तथा उपचार सेवाको लागि विश्वव्यापी ध्यानाकर्षण गर्दै जनचेतना जोगाउन सन् १९८८ देखि हरेक वर्ष डिसेम्बर १ तारिखमा यो दिवस मनाइन्छ ।