नेकपा सचिवालय बैठक आज, दुबै पक्षको आ–आफ्नै रणनीतिमा

काठमाडौं,१६ मंसिर ।
सत्तारुढ दल नेकपाको सचिालय बैठक आज बस्दै छ । पार्टी कार्यालय धुम्बाराहीमा दिउँसो बस्ने बैठकमा ओली र प्रचण्डको प्रतिवेदनसहित दुवैतर्फबाट गरिएका पत्राचारहरुमाथि छलफल हुने भएको छ ।

बैठकमा ओली र प्रचण्डको प्रतिवेदनसहित दुवैतर्फबाट गरिएका पत्राचारको कार्यसूचीमाथि छलफल हुने भएपछि दुवै समूहले आन्तरिक छलफलबाट बटमलाइन बनाएका छन् ।

बैठक अघि गुटगत रणनीति बनाउन व्यस्त छन् । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्ष र वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष सचिवालय बैठकमा पेस भएका सबै पत्र र प्रस्ताव स्थायी कमिटीमा लैजाने रणनीतिमा छ ।

प्रधानमन्त्री एवं अध्यक्ष केपी ओली पक्षले भने प्रचण्डको प्रस्ताव फिर्ता वा संशोधन गराएर सचिवालयबाटै साझा प्रस्ताव बनाउन जोड दिने रणनीतिमा रहेको बताइएको छ ।

शनिबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष ओलीले ३८ पृष्ठको जवाफी प्रतिवेदन पेश गरेपछि नेकपामा दुई वटा प्रस्तावले औपचारिक रुपमा प्रवेश पाएको छ ।

पाँचजना सचिवालय सदस्यले बैठक माग गर्दै कात्तिक २५ गते ओलीलाई पत्र लेखेपछि नेकपाभित्र पत्रयुद्ध पनि चलेको छ । कात्तिक २८ मा प्रचण्डले सचिवालय बैठकमा ओलीलाई जवाफी पत्रसहित १९ पृष्ठको प्रस्ताव पेस गरेका थिए । त्यसको जवाफमा ओलीले ३८ पृष्ठको जवाफी प्रतिवेदन पेश गरेका हुन् ।

पार्टीका सबै कमिटीमा बहुमतमा रहेको प्रचण्ड–नेपाल पक्ष मतदानबाटै भए पनि निष्कर्षमा पु¥याउनु पर्ने पक्षमा छ । तर, ओली पक्षले भने अन्तरिम कमिटीमा बहुमत अल्पमतको अर्थ नरहेको भन्दै त्यसलाई नमान्ने प्रतिक्रिया दिएको छ ।

You might also like