‘राजावादी’ को प्रदर्शन रोक्न सरकारको निर्देशन


अटेर गरे बल प्रयोग गर्ने प्रशासनको चेतावनी, रोक्न खोजे प्रतिवाद गर्ने राजावादीको जवाफी चेतावनीले मुलुक मुठभेडतर्फ जाने संकेत

काठमाडौँ,१७ मंसिर ।
राजसंस्था पुनःस्थापनाको मागसहित देशका मुख्य सहरहरूमा प्रदर्शन हुन थालेपछि गृह मन्त्रालयले विरोध ¥याली, सभा, जुलुसलगायतका गतिविधि हुन नदिन ७७ वटै जिल्ला प्रशासन कार्यालय र मातहत सुरक्षा निकायलाई निर्देशन दिएको छ ।

निर्देशन अटेर गरे बल प्रयोग गर्ने गृह मन्त्रालयले चेतावनी दिएको छ ।

सरकारका आदेश र निर्देशन उल्लंघन गर्दै परिस्थितिलाई थप प्रतिकूल बनाउने, अस्थिरता फैलाउने, सर्वसाधारणलाई भड्काउने गरी गतिविधि गर्न नदिन प्रशासनमा परिपत्र भइसकेको गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिनु भयो ।

राजनीतिक आन्दोलन र विरोध प्रदर्शनका नाममा महामारीलाई प्रश्रय दिने गरी कुनै गतिविधि नगर्न र प्रशासनको अनुमतिबेगर भएका गतिविधि नियन्त्रणमा लिन निर्देशन दिइएको प्रवक्ता बुढाले बताउनु भयो ।

कोरोना महामारीकाबीच बिभिन्न माग राखेर विरोध, प्रदर्शन, ¥यालीलगायतका गतिविधि हुन थालेकाले यस्तो निर्देशन दिनुपरेको उहाँले भनाई छ ।

केही साताअघि गृहमन्त्री रामबहादुर थापासहितको सुरक्षा बैठकले नै राजावादीका गतिविधि बढ्दै गएको र यसबाट अस्थिरता फैलाउन बल पुग्ने निष्कर्ष निकालेको थियो ।

बैठकमा राजावादीहरूको विरोध कार्यक्रममा विभिन्न राजनीतिक दल सम्बद्ध स्थानीय कार्यकर्तादेखि सर्वसाधारणसमेत सहभागी हुन थालेको बिषयमा छलफल भएको थियो ।

देशका विभिन्न स्थानमा बिभिन्न समूहको नामबाट प्रदर्शन हुँदै आएको छ । राजसंस्थाको पक्षमा निकालिएका प्रदर्शनमा हिन्दु धर्मसम्बन्धी संघसंस्था र कतै नामै नसुनिएका संगठनका ब्यानर देखिएका छन् ।

‘वीर गोर्खाली अभियान’ को ब्यानरमा गत कार्तिक १७ मा बुटवलमा राजावादीहरुको व्यापक प्रदर्शन भएको थियो ।

कार्तिक २५ मा ‘राष्ट्रवादी नागरिक समाज’ को ब्यानरमा काठमाडौंको जमलमा प्रदर्शन भयो ।

त्यस्तै कार्तिक २७ मा नेपाल विद्वत् परिषद्को ब्यानरमा विराटनगर, मंसिर ४ गते ‘स्वतन्त्र देशभक्त नागरिक सुदूरपश्चिम’ को ब्यानरमा धनगढी, मंसिर १० मा ‘पश्चिमाञ्चलवासी नेपाली जनता’ को ब्यानरमा पोखरा र ‘नेपाल राष्ट्रवादी समूह’ को ब्यानरमा जनकपुरमा राजावादीले प्रदर्शन गरे ।

मंसिर १४ गते ‘२०४७ को संविधान पुनःस्थापना अभियान’ को ब्यानरमा हेटौंडा र मंसिर १५ मा ‘राष्ट्रिय शक्ति’ नेपालको ब्यानरमा काठमाडौंमा प्रदर्शन भयो ।

अधिकांश विरोध र प्रदर्शनमा सहभागीले संघीयता, धर्म निरपेक्षता र गणतन्त्र खारेज गरी २०४७ को संविधान लागू गर्नुपर्ने माग अघि सारेका छन् ।

राप्रपा मकवानपुरले १९ गते हेटौंडामा प्रदर्शनको तयारी गरेको छ भने ‘नेपालका लागि नेपाली’ समूहले २० गते काठमाडौंमा प्रदर्शन गर्ने तयारी गरेको छ । काठमाडौं र हेटौंडामा हुन लागेका प्रदर्शन रोक्न प्रशासनलाई गृहले निर्देशन दिइसकेको छ ।

महामारीका बेला राजनीतिक गतिविधि वा भेला÷जुलुस आयोजना गर्दा महामारी थप बढ्न सक्ने भन्दै त्यस्ता गतिविधि नियन्त्रणमा लिइने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताउनु भयो ।

राप्रपाका युवा नेता राजाराम बर्तौलाले पूर्वनिर्धारित कार्यक्रम नरोकिने र प्रशासनले जबर्जस्ती रोक्न खोजे प्रतिवाद गर्ने प्रतिक्रिया दिनु भयो ।

राप्रपाले काठमाडौं र झापालगायतका केही सहरमा राजसंस्था र हिन्दु धर्मको पक्षमा प्रदर्शनको तयारी गरेको छ । तर गृह मन्त्रालयले अब हुने विरोध प्रदर्शन र भीडभाड गर्न नदिन देशभरका प्रशासनलाई निर्देशन दिइसकिएको स्पष्ट पारेको छ ।

प्रदर्शनकारीले जसरी पनि प्रदर्शन गरिछाड्ने र प्रशासनले जसरी पनि रोक्ने रणनीति अवलम्वन गर्नुले आगामि प्रदर्शनहरु तनावपूर्ण हुनसक्ने संकेत गरेको छ ।

राजावादीहरूको प्रदर्शनमा विभिन्न राजनीतिक दलसम्बद्ध स्थानीय कार्यकर्तादेखि सर्वसाधारणसमेत सहभागी हुन थालेपछि गृहमन्त्रालयले त्यस्ता प्रदर्शनहरु रोक्न निर्देशन दिएको हो ।

You might also like