रामचन्द्र पौडेल प्रहरी नियन्त्रणमा,तनहूँमा निषेधाज्ञा जारी

बुटवल,१७ मंसिर ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ । पुल उद्घाटन गर्न आफ्नो निर्वाचन क्षेत्र तनहुँमा पुग्नुभएका पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

सामाजिक सञ्जाल ट्विटरमा आफूलाई प्रहरीले हिरासतमा लिएको पौडेलले जानकारी गराउनु भएको छ ।

‘भर्खर प्रहरी परिचालन गरी मलाई समेत हिरासतमा लिएको जानकारी दिन्छु,’ पौडेलले लेख्नु भएको छ्, ‘साधारण जनता र नेपाली कांग्रेसका कार्यकर्तामाथिको प्रहरी लाठीचार्ज र दमन तत्काल बन्द होस !’

व्यास नगरपालिका–१ स्थित तालघरे र दुम्सी जोड्ने पुल उद्घाटनको विषयमा कांग्रेस र राष्ट्रिय युवा संघबीच विवाद चर्किएपछि जिल्ला प्रशासन तनहुँले उक्त क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।

स्थानीय प्रशासनले बुधबार मध्याह्न १२ बजेबाट साँझ ६ बजेसम्मलाई निषेधाज्ञा लगाइएको हो । नेपाली कांग्रेसले जसरी पनि पुल उद्घाटन गर्ने र युवा संघले जसरी पनि रोक्ने भनी विवाद सृजना भएपछि सम्भावित झडपलाई रोक्न निषेधाज्ञा जारी गरेको जिल्ला प्रशासन कार्यालय तनहूले जनाएको छ ।

एक पक्ष पुल उद्घाटनका पक्षमा रहेको र अर्को पक्ष विरोधमा उत्रँदा हुन सक्ने झडपको स्थितिलाई विश्लेषण गरी निषेधाज्ञा लगाइएको प्रशासनद्धारा जारी सूचनामा उल्लेख छ ।

व्यास–१ र १० को पृथ्वी राजमार्गमा चल्ने सवारी साधनबाहेक गल्बुबेसी, बुल्दीखोला पुल, रानीगाउँ, घाँसीकुवा, मुसेखोला अंम्रेनीलगायत ४ किल्ला क्षेत्रभित्र ५ जनाभन्दा बढी व्यक्ति एक ठाउँमा जम्मा हुन रोक लगाइएको छ ।

व्यास नगरपालिकाले बुधबार दिउँसो नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबाट पुल उद्घाटन गर्ने कार्यक्रम तय गरेको थियो ।
पौडेलको निर्वाचन क्षेत्रमा बनेको पूल पौडेलले नै शिलन्यास गरेको र बजेट समेट व्यवस्था गरेकोले पौडेलले पूल उद्घाटन गर्नु अन्यथा नहुने नगरपालिकाले जनाएको छ ।

You might also like