पौडेलप्रतिको दुर्व्यवहार र गिरफ्तारी सर्वसत्तावादको संकेत ः देउवा

ओली सरकारले अधिनायकवादी अभिष्टको प्रदर्शन गर्यो ः पौडेल

काठमाडौँ,१७ मंसिर ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलको गिरफ्तारीको निन्दा गर्नुभएको छ ।

बुधबार एक विज्ञप्ति प्रकाशित गरी सभापति देउवाले पौडेलको गिरफ्तारीलाई आपत्तिजनक र निन्दनीय भएको भन्दै सरकारको यस्तो प्रवृतिविरुद्ध देशव्यापी प्रतिरोध गरिने चेतावनी समेत दिएका छन् ।

गृहजिल्ला तनहुँको दमौलीमा व्यास नगरपालिकाले आयोजना गरेको पुल उद्घाटन कार्यक्रममा सहभागी हुन पुग्नु भएका पौडेललाई निषेधाज्ञा उल्लंघन गरेको भन्दै प्रहरीले पक्राउ गरेको हो ।

’तनहुँ जिल्ला ब्यास नगरपालिकाको वडा नं १ र ११ जोड्ने बुल्दी खोलामा नेपाली कांग्रेसकै पालामा निर्माण सम्पन्न भएको पुल आज स्थानीय उपभोक्ता समितिले सर्वसम्मत रुपमा निर्णय गरेर निमन्त्रणा गरे पश्चात् उद्घाटन गर्न जाँदै गर्दा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल माथि गरिएको दुर्व्यवहार र गिरफ्तारी अत्यन्तै आपत्तिजनक छ,’ देउवाद्धारा जारीे विज्ञप्तिमा जनाइएको छ ।

’सरकारको यो निन्दनीय ब्यवहारको भत्सर्ना गर्दै तत्काल उहाँलाई रिहा गर्न, अन्यथा उत्पन्न हुने परिस्थिति सामनाका लागि तयार बस्न म सरकारलाई चेतावनी दिन चाहन्छु,’ विज्ञप्तिमा भनिएको छ, ’वर्तमान सरकारको अधिनायकवादी आकांक्षाको जगमा भएको यो घटना प्रति कडा विरोध प्रकट गर्दै अधिनायकवादी अभिस्टलाई पूरा हुन नदिन नेपाली कांग्रेस एक ढिक्का भएर शसक्त प्रतिरोध गर्ने चेतावनी दिन चाहन्छु ।’

उता नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूलाई पक्राउ गरी ओली सरकारले अधिनायकवादी अभिष्टको प्रदर्शन गरेको बताउनु भएको छ ।

’जिल्लामा मेरो पहलमा भएको विकास निर्माणको काम सम्पन्न भएपछि नगरपालिका र उपभोक्ता समितिले निमन्त्रणा गरेकाले म आएको हुँ । तर, सरकारले स्थानीय सरकारको कार्यक्रमलाई सुरक्षा दिनुको साटो अवरोध गर्न खोज्यो,’ पौडेलले भन्नुभयो । आफूलाई जनतामाझ पुग्न नदिन सरकारले निषेधाज्ञा लगाएको भन्दै पौडेलले यसले लोकतन्त्रको मर्ममा प्रहार गरेको टिप्पणी गर्नुभयो ।

यसबाट ओली सरकार लोकतन्त्रप्रति प्रतिबद्ध छैन भने देखिएको भन्दै उहांले राजनीतिक गतिविधिलाई निषेध गर्न खोज्नुले अन्ततः लोकतन्त्रलाई नै आघात पु¥याउने बताउनुभयो । सरकारको यो कृत्यको विरोध हुनु आवश्यक रहेको समेत उहांको भनाई छ ।

You might also like