प्रहरी धरपकडमा कांग्रेस बरिष्ठ नेता पौडेलको छातीमा चोट, हिजोभन्दा आज दुखेको जानकारी

काठमाडौं,१८ मंसिर ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथी भएको प्रहरी धरपकडका क्रममा छातीमा चोट लागेको छ ।

पुल उद्घाटन गर्न तनहुँ पुग्नुभएका वरिष्ठ नेता पौडेललाई बुधबार मध्यान्ह प्रहरीले धरपकड गरी नियन्त्रणमा लिने क्रममा छातीमा चोट लागेको पौडेलले जानकारी गराउनु भएको छ ।

छातीमा लागेको चोट बुधबार दिउसो भन्दा बेलुका बढी दुखेको र बुधबार भन्दा बिहीबार अझ बढी दुखेको पौडेलले सामाजिक सञ्जाल ट्वीटर मार्फत जानकारी गराउनु भएको हो ।

आफ्नो निर्वाचन क्षेत्रमा बनेको पुल उद्घाटन गर्न तनहु पुग्नुभएका पौडेललाई संघीय बजेटमा पुल बनेको भन्दै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकर्ताले पुल उद्घाटन गर्न अवरोध गरेका थिए ।

कांग्रेस र नेकपाका कार्यकर्ताबीचको विवादले झडपको रुप लिने अवस्था भएपछि तनहुँ प्रशासनले निषेधाज्ञा जारी गरी पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

वरिष्ठ नेता पौडेलले ट्वीटरमा लेखेर आफ्नो करङको दुखाइ बढेको बताउनु भएको छ । ‘पुलिसको डण्डाबाट पेलिएका मेरा करङ दिउँसोभन्दा साँझ दुखेर आयो, हिजोभन्दा आज दुखाइ बढी छ,’ उहाँले लेख्नु भएको छ, ‘सात दशकको अथक प्रयासबाट प्राप्त गणतन्त्रमा पनि पुलिस पेलानबाट छुटकारा मिल्न सकेको छैन । असली लोकतन्त्र कहिले साकार हुने हो ? मेरो चिन्ता यसैमा छ ।’

You might also like